लन्डन २९ अगस्ट २०२३ । सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान दिइएको छ ।
लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न कार्यक्रमसहित भएको १४औं नेपाली मेलामा तमुधिं यूकेले आरोहीद्वय बुढामगर र पुनलाई खादा, माला, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो । सम्मानित आरोहीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका राजदूत ज्ञानचन्द्र आचार्य, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङले खादा, माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
विभिन्न सांस्कृतिक झाँकी प्रस्तुति, नृत्यलगायत प्रतियोगितालगायत कार्यक्रमसहित यस वर्षको नेपाली मेला सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित मेलामा कोरोना भाइरस महामारीपछि पहिलोपटक ठूलो संख्या अर्थात् झन्डै ७ हजार दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।






