
काठमाडौँ २८ सेप्टेम्बर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापा र राजेन्द्रकुमार (आरके) शर्माले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
दुवै जनाले बिहीबार छुट्टाछुटै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । थापाले पुन: अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो । उम्मेदवारी घोषणा गर्दै थापाले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छन् ।
उनले सो अवसरमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सङ्घको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गरेकी छन् । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा उहाँको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ ।
यस्तै कर्मभूमि कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच शर्माले बिहान कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । “गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका छन् ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।






