एटा सम्वाददाता
अल्डरसट । नेपालका गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ कला ज्योतिले चित्रकला प्रर्दशनमार्फत च्यारिटी गर्ने भएको छ ।
आउँदो १७ देखि १९ अप्रिल २०१८ सम्म दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गर्न लागिएको हो । नेपालका विभिन्न विद्यालय, अनाथलय, गुम्बा र संघसंस्थाहरुमा चित्रकला सिक्ने अवसर नपाएका गरिब तथा जेहेन्हार विद्यार्थीहरुलाई कला सिकाउने उद्देश्यले चित्रकला प्रदर्शनी गर्न लागिएको कला ज्योतिले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरिने प्रदर्शनीमा नेपालका बालबालिका र अन्तर्राष्ट्रियस्तरका प्रशिद्ध चित्रकार गार्डन डेविडसनका विभिन्न चित्रहरु प्रदर्शन गरिने छ ।
अन्तर्राष्ट्रियस्तरका प्रशिद्ध कलाकार गार्डन डेविडसनको माध्यमबाट रहेका ७ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुलाई चित्रकला सिकाउँदै आएको छ । जुन कला नेपालका सामान्य विद्यालयको पाठ्यक्रममा समावेश छैन ।
च्यारिटीबाट संकलित रकमले पेन्टिङ्ग सामग्री, रङ्ग र कागजका साथसाथै करिब ६०० जनाभन्दा बढी बालबालिकाहरुलाई प्रशिक्षणमा सहयोग गर्ने छ । त्यसको साथसाथै, १६ वर्षभन्दा बढीका उच्च शिक्षा हासिल गर्ने क्षमता भएका विद्यार्थीहरुलाई दुई वर्षसम्म राजधानी काठमाडौंमा उनीहरुको चित्रकला र व्यक्तिगत क्षमतामा समेत सहयोग गर्दै आएको छ ।
आठ वर्षअघि स्थापना भएको कला ज्योतिले नेपालमा विभिन्न च्यारिटीमूलक कामहरु गर्दै आएको छ । आठौं वार्षिकोत्सवको अवसरमा अल्डरसटमा आयोजना गर्न लागिएको चित्रकला प्रदर्शनीमा उपस्थितिको लागि सबै स्थानीय बासिन्दाहरुलाई कला ज्योतिका अध्यक्ष जेराल्ड डेविजले अनुरोध छन् ।






