एनआरएनए अध्यक्ष पदमा श्रेष्ठलाई समर्थन गर्दै थापाको उम्मेदवारी फिर्ता

SHARE:

काठमाडौं १९ अक्टोबर २०२३ । गैर आवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

वर्तमान अध्यक्ष थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी हुन् । थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्ययोजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन् ।

‘संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो । त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । साथै, अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीलाई मतदान गरी विजयी बनाउन पनि सम्पूर्ण डेलिगेट्स मित्रलाई आग्रह गर्दछु,’ थापाले भनेकी छन् ।

२०२१–२०२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोस्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने बताएकी थिइन् । तर, अध्यक्षका उम्मेदवार श्रेष्ठ र उनको टिमसँग सघन वार्तापछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन् ।

रबिना थापाको विज्ञप्ति
गैर आवासीय नेपाली संघ (एनआरएनए) को हाल जारी ११ औं महाधिवेशनमा मैले संघलाई एकताबद्ध गर्दै यस अघि पुरा हुन बांकी एजेन्डाहरु पुरा गर्ने उद्देश्य सहित पुन: २०२३-२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी थिएँ। अहिले पनि संघमा समेटिन नसकेका श्री बिनोद कुँवरले नेतृत्व गर्नु भएका साथीहरुलाई समेटेर संघलाई अगाडी बढाउन मैले जोड दिंदै आएको सबै साथीहरुलाई अवगत नै छ। २०२१-२३ कार्यकालका उपाध्यक्ष तथा हाल अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिना भित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसलाई स्वागत र समर्थन गर्दछु।
संसारभरि रहेका गैर आवासीय नेपाली साथीहरुले फोन तथा विभिन्न माध्यमबाट मलाई सम्पर्क गरी अहिलेको अवस्थामा गैरआवासीय नेपाली संघलाई एकतावद्ध गराउन पहल लिन सुझाव दिंदै आउनु भएको छ। विषम परिस्थितिमा पनि २०२१-२३ कार्यकालमा हामीलाई दिइएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्‍यौं। यही कार्यकालमा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रवासमा कार्यरत तीन लाख भन्दा बढी नेपालीहरु आबद्ध भै सक्नु भएको छ। संघमा मैले उठाउंदै आएको युवा तथा महिलालाई संघभित्र अग्रस्थान दिने कार्य योजनालाइ अध्यक्ष पदका उम्मेदवार महेशजीले प्राथमिकताका साथ अगाडी बढाउने वचन दिनुभएको छ। अन्तरराष्ट्रिय स्तरमा ग्लोबल फन्ड निर्माण गर्ने, गैर आवासीय नेपाली सम्बन्धी मन्त्रालय स्थापनाका लागि पहल गर्ने, सातै प्रदेशमा स्मार्ट शौचालय निर्माण गर्ने, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि उच्च राजनीतिक स्तरमा पहल गर्ने लगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने मेरा एजेन्डाहरुलाई उहाँले आगामी कार्यकालमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
उहाँ र उहाँले नेतृत्व गर्नु भएको टिमले स्थापनाको २० वर्ष पुरा गरेको संघलाई आगामी दशकका लागि स्पष्ट कार्ययोजनासहित अगाडि बढाउने मैले विश्वास लिएकी छु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु। साथै, अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरुलाई मतदान गरी विजयी बनाउनु हुन पनि सम्पूर्ण डेलिगेट्स मित्रहरुलाई आग्रह गर्दछु। धन्यवाद ।
रबिना थापा
अध्यक्ष, एनआरएनए आइसीसी (२०२१-२०२३)
मिति: १८ अक्टोबर २०२३

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!