
काठमाडौँ । हिन्दु नेपालीहरुको प्रमुख चाड दसैं उत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । आज २४ अक्टोबर २०२३ मा दसैं मुख्य दिनको अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।
टीका ग्रहण गर्नेहरुको चहलपहल गाउँगाउँमा भइरहेको छ । कतिपय ठाउँमा रमाइलो सांस्कृतिक कार्यक्रम राखिएको छ भने केही ठाउँमा लिङ्गेपिङ, रोटोपिङलगायतमा युवायुवतीहरु झुम्मिरहेका छन् ।






