जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं २ को शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताए ।

उनले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्न आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताए । उनले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पुर्याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताए । उनले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरण तर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औँल्याए ।
उनले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे । सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई– मधेसको लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताए।
प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश नं २ को ८ जिल्लामा एक÷एक हजारको दरले आठ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिए ।
उनले जनकपुरधामस्थित मणिमण्डपमा उत्खननबाट भेटिएको पौराणिक वस्तुलाई दृष्टिगत गर्दै यसको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि मणिमण्डप निर्माण गर्नको लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए । उनले यस प्रदेशमा एक विश्व विद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताए ।
प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताए । उनले अन्धविश्वास, असभ्यता र अमानवियताको विरुद्ध आफैले आफैलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेद्कारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।
यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै जलेश्वर, सिम्रोनगढ, जनकपुर, धनुषाधाम, सखडाभगवती लगायतका धार्मिकस्थललाई विकास गर्ने सोच सरकारको रहेको प्रधानमन्त्री ओलीले जनाए । प्रधानमन्त्री ओलीले आफूले भारतीयमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तितनाथको दर्शन गराएपछि यस क्षेत्रमा पर्यटकको उल्लेख्य वृद्धि भएको चर्चा गरे ।
प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गरेका थिए ।






