एजेन्सी १ डिसेम्बर २०२३ ।

गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै दर्जनौं घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार जनाएका छन् । गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तीमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको स्रोतले जानकरी दिएको छ ।
गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ । विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारी आक्रमणका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार ठहर्याइएको छ ।
इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धबिराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो । इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ । आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ ।
इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे समाप्त भएको थियो ।






