एजेन्सी १० डिसेम्बर २०२३ ।

गाजामा जारी इजरायली आक्रमणबाट १० लाख बालबालिका विस्थापित भएका छन् ।
यी बालबालिका आफ्नो परिवारका सदस्यसहित पूर्णरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युनिसेफका मध्य पूर्व तथा उत्तर अफ्रिकाका लागि क्षेत्रीय निर्देशक एडेल खोदरले गाजा युद्धमा मृत्यु हुने र घाइते हुनेमा पनि सबैभन्दा बढी बालबालिका तथा महिला रहेको बताएका छन् । उनले गाजापट्टी बालबालिकाका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्र बन्दै गएको बताएका छन् ।
उनले गाजामा पानी, खाना तथा सुरक्षा बिना निकै साँघुरा र भीडभाडयुक्त क्षेत्रमा बालबालिकाले कठिनपूर्ण जीवन बाँचिरहेको र त्यसले विभिन्न खालका महामारी निम्त्याउने जोखिमसमेत बढाएको बताएका छन् । निरन्तरको लडाइँले बालबालिकाको जीवन उच्च जोखिममा परिरहेको र सामाजिक जीवन पूर्णरूपमा विखण्डित भएको बताएका छन् ।
गाजामा जारी युद्धमा हजारौँ बालबालिकाले ज्यान गुमाइसकेका छन् । युद्ध रोकिएको छैन भने युद्धविरामका लागि भएका प्रयास निरन्तर विफल भएको राष्ट्र संघको भनाइ छ ।






