लालबहादुर पुन
लन्डन । नेपाली मूलधारका कवि तथा गीतकार भावेश भुमरीलाई मगर भवनमा भव्य रूपले स्वागत, सम्मान र बिदाइ गरिएको छ ।
मगर संघ युकेको आयोजनामा अगस्ट १३ तारिख सोमबार संस्थाका महासचिव लालबहादुर पुनले बेलुकी सात बजे औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापा, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, प्रमुख अतिथि साहित्यकार भावेश भुमरी तथा उपस्थित सबैलाई परिचययात्मक कार्यक्रम गरी आसनग्रहण गराएका थिए । मगर संघ युकेका केन्द्रीय महिला उपाध्यक्ष अनिता रानाले औपचारिक स्वागत मन्तव्य दिएपश्चात् संस्थाका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय संरक्षक घन थापा, केन्द्रीय सल्लाहकार, मगर महिला संघका अध्यक्ष छविमाया पुन, यूएचएसबी शाखाका अक्ष्यक्ष लेख रानालगायतको उपस्थितबाट मगर भवनमा भावेश भुमरीको साहित्यिक लेखन र प्रकाशन निरन्तताको कामना गर्दै सम्मान, स्वागत तथा बिदाई गरिएको थियो ।
विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्य, गीत, सङ्गीत र पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका भुमरीको वास्तविक नाम भने, जुद्धबहादुर पुनमगर हो । मगर संघ युकेको नेपाली ओपन कन्सर्टमा विशेष अतिथिका रूपमा मे महिनामा बेलायत आएका भुमरी विगत साढे दुई महिनादेखि बेलायतकै विभिन्न साहित्यक, साङ्गीतिक, सामाजिक र बौद्धिक कार्यक्रमहरूमा व्यस्त थिए ।
कार्यक्रममा मन्तव्य राख्दै भुमरीले युकेमा बस्दै आएका मगर लेखक स्रष्टाहरूको सही पहिचान र प्रोत्साहनमा मगर संघ युकेले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए । भुमरीले मगर स्रष्टाहरू राष्ट्रियस्तरमा स्थापित हुने समय आइसकेकाले त्यसतर्फ सर्जकहरूको ध्यान जानुपर्नेमा जोड दिएका थिए । युकेका विभिन्न कार्यक्रमहरूमा युकेमै रहेका कलाकार र गायकगायिकाहरूलाई मञ्च प्रदान गरेमात्र युकेका प्रतिभाहरूले प्रोत्साहन पाउने कुरामा पनि जोड दिएका थिए । विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा खर्च गर्नुको साटो बौद्धिक कार्यक्रमहरूबाट नयाँ पुस्तालाई ज्ञान दिलाउन सकेमा मात्रै पुर्ख्यौली संस्कृतिको जगेर्ना हुने कुरामा पनि भुमरीले जोड दिएका थिए । भुमरीले आफ्ना ११ वटा कृति संघका अध्यक्ष नेम थापालाई हस्तान्तरण गर्दै मगर संघको भवनसहित समुदायमा पुस्तकालय र अध्ययनको महत्वलाई पनि प्रकाश पारेका थिए ।
कार्यक्रमका अध्यक्ष थापाले भुमरीजस्ता स्रष्टाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । युकेका हरेक मगर स्रष्टाहरूको सिर्जनाको कदर गर्ने कुरामा पनि मगर संघ युके सधैं लागिपर्ने कुरामा जोड दिएका थिए । सबै सर्जकहरूका सिर्जनालाई संघले सुरक्षित राख्ने पुस्तकालयको व्यवस्था संघकै कार्यालयमा गर्ने कुरामा पनि जोड दिएका थिए ।
कार्यक्रम समापनपछि अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा खानपिन कार्यक्रम गरिएको थियो । सर्जक भुमरीसहित उपस्थित व्यक्तिहरू राति ढिलो गरी आ–आफ्ना गन्तव्यमा पुगेका थिए ।






