अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक, बेलायतबाट मात्रै ७ हजार १ सय ७४ भित्रिए

SHARE:

गण्डकी २ जनवरी २०२४ । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

“अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, “पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।” सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गत वर्ष जम्मा ९४ हजार चार जनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्तयसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानैलय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

आयोजना प्रमुख डा कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताए ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दस गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो ।

त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

“कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ”, उनले भने, “आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!