लण्डन ३ जनवरी २०२४ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक पूजापाठका साथ तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ ।
गत ३१ डिसेम्बर आइतबार नेपालीको उल्लेख्य बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दीप प्रज्ज्वलन, घ्यासी आयू र छोग पूजा गरी ल्होछार मनाइएको हो । विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यसबर्ष बिरालो वर्गलाई बिदाई गर्दै गिद्ध वर्गको स्वागत गर्ने क्रममा उक्त पूजा गरिएको हो ।

नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो मंगल ध्वज (किरण) तुलाचनको बिशेष उपस्थितिमा सम्पन्न सो पूजामा बीसीसी यूकेका खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, लामा पुरन गुरुङ, सानु लामालगायत धर्मशालाबाट आएका ६ जना धर्मगुरुले संयुक्त रुपमा संसारभर रहेका मानवजातीको सुख, शान्ति, दिर्घायू र समृद्धिको कामना गर्दै बौद्ध परम्परानुसार घ्यासी पूजा (ग्रह शान्ति), आयू, घनचक्र (छोग) पूजा गरेका थिए ।

सो अवसरमा दीप प्रज्ज्वलन, लुंदा रब्ने, रीप लगाउने, आयूको वाङ्ग दिइएको थियो । बेलायतमा रहेका तमुहरुको उत्साहजनक उपस्थिति रहेको पूजामा तमुधीं यूके अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति तथा आमाहरुले बीसीसी यूकेको गुम्बा परिसरभित्र नयाँ लुंदा फेरेका थिए ।
बिहान १० बजेबाट औपचारिक रुपमा शुरुवात भएको पूजामा खेन्पो किरण तुलाचनले ल्होछारबारे जानकारी गराउँदै दीर्घायू र शसक्तिकरणबारे धार्मिक प्रवचन दिए । सो अवसरमा बीसीसी यूके अध्यक्ष हर्क गुरुङलगायत कार्यसमितिले खेन्पो तुलाचनप्रति मण्डला अर्पण गरेका थिए । त्यस्तै, आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरुले धन्यवाद ज्ञापनसहित खेन्पो तुलचानप्रति मण्डला अर्पण गरे ।
कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्क गुरुङले बीसीसी यूकेबारे छोटो जानकारी गराउँदै विगत केही बर्ष देखि ल्होछार मनाउँदै आएको जानकारी बताए । उनले ल्होछारको शुभकामनासहित सबै अतिथिलाई स्वागत गरे । त्यस्तै, बीसीसी लण्डन ब्रान्चका सचिव पञ्च तामाङले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले मुप्री ल्होछारको पावन अवसरमा सबैको सुख, शान्ति, दीर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए ।

बिशेषगरी नयाँ पुस्ता सहभागी सो पूजामा बीसीसी यूके उपाध्यक्ष रोबिन गुरुङले अतिथि खेन्पो किरण तुलाचनको बारेमा छोटो परिचय दिएका थिए । बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने १०८ ठेली कंग्यूर (बुद्ध वचन) र २२५ ठेली तेंग्यूर (बुद्ध वचन) बीसीसी युकेले गत २७ नोभेम्बरबाट पढाइरहेको पुस्तकलाई विभिन्न भक्तजनले गुम्बा परिसर भित्र घुमाएका थिए । कार्यक्रममा बीसीसी यूकेका स्टाफहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत बिशेष सहभागिता रहेको उक्त पूजामा बीसीसी यूके संस्थापक अध्यक्ष लेप्टेन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत बीसीसी यूके कार्यसमिति, आमाहरु, भक्तजनहरुको सहभागिता रह्यो ।
त्यस्तै, तमुधीं यूके अध्यक्ष हरि गुरुङ तथा आमा अध्यक्ष सन्ध्या गुरुङ, एनआरएन यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर धन बहादुर सार्की, शेर्पा एशोसिएशन यूके अध्यक्ष एवं बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, तमु फोरमका डाइरेक्टर क्याप्टेन राजु गुरुङलगायत अतिथिहरुको बिशेष उपस्थिति थियो ।
बीसीसी यूके अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले धर्मगुरु, अतिथि, स्वंयसेवक, आमाहरुलगायत उपस्थिति भक्तजनहरुमा धन्यवाद ज्ञापन गरेका थिए । बीसीसी यूके महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, खेन्पो किरण बीसीसी यूकेको बिशेष निमन्त्रणामा तमु ल्होछारका लागि नेपालबाट आएका हुन् । उक्त ल्होछारका दिन उनलाई बीसीसी यूके अध्यक्ष, आमा प्रमुख, ल्होछार संयोजक, कार्यसमिति, आमाहरुलगायत भक्तजनहरुले स्वागतद्वारमा खादा लगाई स्वागत गरेका थिए ।









