एजेन्सी ६ जनवरी २०२४ ।

ब्राजिली लिजेन्ड (महान) फुटबलर मारियो जागालोको निधन भएको छ ।
उनलको ९२ वर्षको रुपमा शनिवार निधन भएको हो । जागालोका नाममा ब्राजिलका लागि ४ वटा विश्वकप विजेता मेडल छन् । उनले खेलाडी, प्रशिक्षक र पदाधिकारीको रुपमा ब्राजिललाई विश्वकप फूटबलका ४ उपाधि जिताएका छन् ।
जागालोले विङ्गर पोजिसनबाट सन् १९५८ र १९६२ को विश्वकपको फाइनल खेलमा शुरूवात गरेका थिए । यस्तै उनी ब्राजिलको सर्वकालिन महान टोली मानिने सन् १९७० को विश्वकपमा उनी प्रशिक्षकको रुपमा थिए । विश्वकप विजेता उक्त टोलीमा पेले, जेरजिन्हो र कार्लोस अल्बर्टोजस्ता खेलाडी थिए ।
उनले अन्तिम पटक सन् १९९४ मा विश्वकपको उपाधि जितेका हुन् । त्यो बेला उनी ब्राजिली टोलीको संयोजको रुपमा कार्यरत थिए । यसैगरी जागालोको प्रशिक्षणमा ब्राजिलले सन् १९९७ मा कोपा अमेरिकाको उपाधि पनि जितेको थियो ।
उनकै प्रशिक्षणमा ब्राजिल सन् १९९८ मा पनि विश्वकपको फाइनलसम्म पुगेको थियो । जागालो खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप फूटबलको उपाधि जित्ने पहिलो प्रशिक्षक हुन् । ब्राजिल सर्वाधिक ५ पटक विश्वकप जित्ने टोली हो ।






