लण्डन २८ जनवरी २०२४ ।

हमाससँग संलग्न भएको भन्दै बेलायतले एक राष्ट्र संघीय एजेन्सीको अनुदान रोकिदिएको छ ।
मध्य पूर्वमा प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्र संघीय राहत एजेन्सी यूएनआरडब्ल्यूएलाई दिँदै आएको अनुदान बेलायतले रोकेको हो । इजरायलले उक्त संस्थाका कर्मचारी ७ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणमा सहभागी भएको आरोप लगाउँदै आएको छ ।
यूएनआरडब्ल्यूएले समेत इजरायलमा भएको आक्रमणमा सहभागी भएको भन्दै आफ्ना कयौँ कर्मचारीलाई बर्खास्त गरेको घोषणा गरेको छ । यूएनआरडब्ल्यूएको यो घोषणापछि बेलायतले अनुदान रोकेको घोषणा गरेको हो ।
यसअघि अमेरिका, अस्ट्रेलिया, इटली तथा क्यानडाले उक्त एजेन्सीको अनुदान बन्द गरेका थिए । यस एजेन्सीले गाजामा विस्थापित भएका लाखौँ प्यालेस्टाइनीलाई सहयोग गरेको बताएको छ ।






