
रॊजी राई – नेपाल। बेलायतमा स्थापित क्याम्बर्ली नेपाली महिला समाजले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाडास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बालबालिकाहरुलाई आर्थिक सहयोग गरेका छन।
सो आर्थिक सहयोग उक्त बिद्यालयमा अध्ययनरत सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बिद्यार्थीहरुको लागि भान्सा घर मर्मत तथा सम्भारका लागि गरेको हो । बिद्यालयमा १० जना सुस्त श्रवण तथा बहिरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।
क्याम्बली नेपाली महिला समाजको तर्फबाट संस्थाकी अध्यक्ष रहेकी समाजसेवी तथा नारद आदर्श माध्यमिक बिद्यालयका संस्थापक नारदमुनी थुलुङका नातिनी रोजी थुलुङ साम्पाङ्ले आज एक कार्यक्रमको बिच बिद्यालयका प्रधानाध्यपक कविराज तामाङ्गलाई एक लाख रुपैयाँ नगद उपलब्ध गराएकी छिन् ।
आजै समाजका अध्यक्ष रोजी थुलुङ साम्पाङले भान्साघरको मर्मत कार्यको शुभारम्भ गरेकी छिन् । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रोजी थुलुङ साम्पाङले गत बर्ष आफुले यस बिद्यालयको भ्रमण गर्दा धेरै आधारभुत कुराहरुको अभाव रहेको देखेको स्मरण गर्दै आफुहरुको संस्थाले बेलायतमा देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट सहयोग गरेको बताएका छिन् ।
उनले यसअघि गत बर्ष जाजरकोटमा गएको भुकम्पपीडितहरुलाई पनि सहयोग गरेको बताउदै यस प्रकारको सहयोगहरु आफ्नो ठाँउमा गर्न पाउँदा हर्षित भएको बताएकी छिन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गौतम राई, बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
यस्तै नारदमुनी थुलुङका कान्छी नातिनी जिना थुलुङ र ज्वाई केनिथले बसहा बर्खेडाडास्थित नारद आदर्श शिक्षा क्याम्पसको पुस्तकालय ब्यबस्थापनका लागि एक लाख रुपैयाँलगायत बिद्यालयमा अध्ययनरत गरिव बिद्यार्थीहरुका लागि स्टेशनरी सामाग्री पनि प्रदान गरेको क्याम्पसका पुर्व क्याम्पस प्रमुख ध्रुवराज राईले जानकारी दिएका छन् ।







