काठमाडौं २९ फेब्रुअरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेस महासमितिको बैठकमा केही नयाँ चिज उठेको भन्दै उनले यस विषयमा छलफल हुने बताए ।
बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुङ्गो लाग्ने बताए । आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भने पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताए ।
पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनले स्पष्ट पारे । उनले भने‚ ‘औपचारिकरूपमा लिखित निर्णय भएको छैन ।’ कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएको बताए।
फरक प्रसङ्गमा प्रधानमन्त्रीले चितवनवासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताए । तीन वर्षदेखि बन्न नसकेको रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताए । आफूहरूले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उनले बताए ।






