
लन्डन ९ मार्च २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।
शुक्रबार मन्त्री निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए । सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको डा. केसीले जानकारी दिए ।
मन्त्री श्रेष्ठले गैर आवासीय नेपालीहरूले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए । त्यस्तै गैर आवासीय नेपालीहरूका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानको बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए ।
यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन् । उनीले बिहीबार रुसी समकक्षी लाभारोभसँग रुसी सेनामा अलपत्र परेका नेपालीहरुको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैर आवासीय नेपाली संघले रुसी सेनामा अलपत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगको लागि आग्रह गर्दै आएको थियो ।






