
काठमाडौँ १३ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ ।
बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात सांसद अनुपस्थित भएका थिए । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो ।
सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ प्राप्त भएको जानकारी गराए । उनले सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।
यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएको थिए ।






