मस्को २३ मार्च २०२४ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।
शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ । आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।
आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।
घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।
मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुँवाको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो । आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भन्नुभयो, कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो । होहल्लाको लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो ।
रूसी समाचार संस्थाका अनुसार रूसको अनुसन्धान समितिले शनिबार ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिकासहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी दिए।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतङ्कवादी’ अनुसन्धान सुरु गरिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहेको बताइएको छ ।
रूसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए । इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।
मस्कोलाई ‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो
मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो । इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ, “संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ‘ठूला सभाहरू’ लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने सूचना दिएको थियो ।” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताएको छ ।
सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए । विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।
मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।






