टोक्यो । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् ।
जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।
आँधीले घरका छाना उडाएको, पुलमा रहेका ट्रकहरु पल्टाएको र ओसाकाको बन्दरगाहमा रहेको २,५७१ टनको टेङ्कर बगाएको थियो ।
सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ । यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन् ।
बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ । तर दैनिक ४०० भन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ ।






