मेजर कृष्ण गुरुङ – बेलायत।
शनिबार २६ सेप्टेम्वर २०२६ का दिन क्विन्स गोर्खा सिग्नल एसोसिएसन युकेले आफ्नो पल्टनको ७७औं जन्मोत्सव बेलायतको अल्डरसट शहरको अम्पायर हलमा भव्यतासाथ मनाएको छ।
बेलायतले सन् १९४७ मा भारतलाई आफ्नो शासकीय अधिकार हस्तान्तरण (स्वतन्त्र भारत) गरेपछि चारवटा गोर्खा बटालियनसहित भारत छाडेको थियो। सुरुमा सबै गोर्खा बटालियनहरू मलेसियामा स्थानान्तरण गरिएका थिए। बेलायती सेनामा आवद्ध गोर्खा बटालियनहरू र तत्कालीन गोर्खा ब्रिगेडको स्थापना भएपछि, सन् १९४८ पछि अपरेसनल आवश्यकता अनुरूप इन्जिनियरिङ, सञ्चार, लजिस्टिक जस्ता अन्य रेजिमेन्टहरू क्रमशः स्थापना गरिए। यसै अन्तर्गतको एक सञ्चार रेजिमेन्ट (वर्तमान क्विन्स गोर्खा सिग्नल) को स्थापना सन् १९४९ मा भएको थियो।
उक्त दिन रेजिमेन्टका कर्णेल अफ द रेजिमेन्ट मेजर जेनेरल एमजे फेयरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सेवारत तथा अवकाशप्राप्त सिनियर अधिकृतहरू र सयौँ सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा एसोसिएसनका महासचिव किरण लिम्बुले स्वास्थ्य तथा आपत्कालीन सुरक्षासम्बन्धी सूचना प्रवाह गरेका थिए भने संस्थाका उपाध्यक्ष मानार्थ लेफ्टनेन्ट प्रीतिनारायण राईले कार्यक्रमलाई अगाडि बढाएका थिए। कोषाध्यक्ष महेन्द्र राईले हिसाबकिताबको जिम्मेवारी सम्हालेका थिए।
उक्त अवसरमा १५ जना सिनियर सदस्यहरूलाई पल्टनको ब्याजबेरेट क्याप (वेरेट क्याप) प्रदान गरी विशेष सम्मान गरिएको थियो। यसै क्रममा मेजर जेनेरलमा पदोन्नति सहित पदभार ग्रहण गर्नुभएका कर्णेल अफ द रेजिमेन्ट जेनेरल फेयरलाई बधाई तथा शुभकामना व्यक्त गरियो। त्यस्तै, मेजर राजकुमार मल्ल लेफ्टिनेन्ट कर्नेलमा चयन हुनुभएको सुखद समाचारले प्रफुल्लित भएका सदस्यहरूले उहाँलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे भने नेपाली मुलका बेलायती काउन्सिलर लक्ष गुरुङ र बिष्णु गुरुङलाई रेजिमेन्टले बधाई तथा सम्मान गरेको छ।
एसोसिएसनका अध्यक्ष मेजर (रिटायर्ड) कृष्ण गुरुङले स्वागत तथा शुभकामना मन्तव्य राख्दै पल्टनले हरेक क्षेत्रमा उन्नति गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताए। उनले हाल पल्टनमा ७ वटा स्क्वाड्रनहरू रहेको र आठौँ स्क्वाड्रन २०२९ भित्र स्थापना हुने चरणमा रहेको जानकारी गराए। कार्यक्रममा उल्लासपूर्वक सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरू, सहयोगीहरू, पल्टनबाट आएर मनोरञ्जन प्रदान गर्ने सेवारत सदस्यहरू तथा सांगीतिक प्रस्तुति दिने क्विन्स गोर्खा सिग्नल ब्यान्डका अधिकृत र सदस्यहरूलाई उनले हार्दिक आभार व्यक्त गरे।
प्रमुख अतिथि कर्णेल अफ द रेजिमेन्ट जेनेरल फेयरले क्विन्स गोर्खा सिग्नल रेजिमेन्टका वर्तमान प्रगति विवरण, सङ्ख्या विस्तारसम्बन्धी भावि रणनीतिक अवधारणा, अवसर एवं चुनौतीका विषयमा गहन मन्तव्य राख्दै पल्टन सही मार्गमा रहेको र आफूलाई यसमा अत्यन्त गर्व लागेको बताए। उनले पल्टनका सम्पूर्ण सेवा निवृत्त सदस्यहरूलाई जन्मोत्सवको शुभकामना दिएका थिए।
जन्मोत्सवको केक काटेपछि शान्ता राम मगरले सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेका थिए। पल्टनबाट प्रस्तुत खुकुरी नृत्य, आधुनिक नृत्य, श्रीमती शशी गुरुङको एकल नृत्य एवं मेजर धन गुरुङको नृत्यबाट सुरु भएको उक्त सांस्कृतिक चरणमा सेवारत अधिकृतहरू, मेजर निर्मल भट्टचन, क्याप्टेन अशोक पुन, क्याप्टेन सुरज गुरुङ, क्याप्टेन नवीन सुनुवार तथा ब्यान्डका सदस्यहरू दीपेन्द्र गुरुङ, धन गुरुङ, राज गुरुङ र एसोसिएसनका महासचिव किरण लिम्बुले विभिन्न नेपाली गीत तथा सङ्गीतको विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रमको उत्तरार्धमा नेपालबाट बेलायत आएकी गायिका सविना बुढा मगरको प्रस्तुतिमा सयौँ सदस्यहरूले साथ दिएका थिए र भरपूर मनोरञ्जन लिएका थिए। अर्को वर्षको जन्मोत्सवमा पुन: भेट्ने अभिलाषासहित स्वादिष्ट डिनरपश्चात पल्टनको ७७औँ जन्मोत्सव भव्य रूपमा सम्पन्न भयो। जय क्यूजि सिग्नल।







