लन्डन । भर्सटाइल गायिका पवित्र गुरुङ फेरि बेलायत आएकी छन् ।
तमु लम परिवार यूकेको यही १० अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेदेखि हुने पहिलो वार्षिक भेटघाट कार्यक्रममा प्रस्तुति दिन गायिका गुरुङ बुधबार लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । एयरपोर्टमा उनलाई तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङलगायत पदाधिकारी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्कृतिविद् तथा साहित्यकार एकेन्द्र गुरुङ, समाजसेवी ओमेन्द्र गुरुङलगायतले स्वागत गरे ।
एयरपोर्टमा सञ्चारकर्मीसँग बोल्दै पवित्रले तेस्रो पटक बेलायत आएको उल्लेख गर्दै स्वागतमा उपस्थित सबैलाई धन्यवाद दिइन् । साथै अक्टोबर १० को तमु लम परिवार युकेको भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थित हुन सबै बेलायतवासी नेपालीमा आग्रह गरिन् ।
उनीसँगै गायिका प्रिया गुरुङको पनि प्रस्तुति रहने छ । प्रिया सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायतमै रहेकी छन् । कार्यक्रममा ‘बन्धुत्व, भातृत्व र एकता’ भन्ने नारासहित स्थापित तमु लम परिवार यूकेमा आबद्ध परिवारजनको सहभागिता रहने अध्यक्ष रामचन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, छोरी–चेली, ज्वाइँ तथा छोरा–छोरीलगायत सम्पूर्ण परिवारजनलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ। आयोजकले पारिवारिक भेटघाटलाई आत्मीय, भव्य र अविस्मरणीय बनाउन सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
तमु लम परिवार यूकेले पहिलो वार्षिक भेटघाटमार्फत बेलायतमा रहेका परिवारजनबीचको आपसी सम्बन्ध, भाइचारा र एकतालाई थप मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ ।


तस्बिर : ओमेन्द्र गुरुङको फेसबुकबाट






