एटा संवाददाता
लन्डन । एनआरएनए युकेले पहिलोपटक फरक शैलीको कार्यक्रम आयोजना गरेको छ ।
अपाङ्गता भएकाहरुको सहयोगार्थ गत शनिबार १ सेप्टेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा फरक खालको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफैंमा अपाङ्गता भएका विभिन्न कलाकारहरुले एकदमै मनछुने फरक प्रस्तुति दिएका थिए ।
अपाङ्गता भएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझै फरक छ र त्यसलाई परिवर्तन गर्न सो प्रस्तुतिले महत्वपूर्ण भूमिका खेल्ने सहभागीको बुझाइ थियो । आफैंमा अपाङ्गता भएका कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको आँसु थामिएन । उनीहरुले एक घण्टाभन्दा लामो नाटक मञ्चन गरेका थिए । गीत गाएका थिए । कविता वाचन गरेका थिए । विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एलिशा लामा र सुच राईले कविता, बिनाका पुन, नेत्र आले, अमृता गिरीले गीत र निलम ढुंगानाले गीत तथा नृत्य, हरिबहादुर बुढा मगर र बिनोद बुढाथोकीले आफूले भोगेका जीवन संघर्षका अनुभवहरु सुनाएका थिए ।
त्यस्तै, कार्यक्रमको अर्को रोचक पक्ष थियो नाटक । जसमा अञ्जु श्रेष्ठ, अमृता गिरी, गीता पाण्डे, दिपक थापा मैथाने मगर, विनोद बुढाथोकी, प्रिमा पन्त भट्टराई, हरि बुढा मगर, सुस्मीता थापा र गृष्मा भुसालले अभिनय गरेका थिए ।
कार्यक्रममा बेलायतमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । एनआरएनए युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेम गाहा मगर तथा उनको समूह र स्वंयसेवकहरु कार्यक्रमलाई रोचक, मनोरञ्जन र उद्देश्यपरक बनाउन खटेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष मेजर (रि) डमर घलेका पूर्वअध्यक्षहरु, सल्लाहकारहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रेम गाहामगरले कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै अतिथिहरु, कलाकारहरु, कार्यसमितिका साथीहरु, एनआरएनए अग्रजहरुले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले प्रमुख अतिथिलगायत सहभागी कलाकार, संयोजक गाहा मगर तथा उनको समूह, युवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनए अग्रज र उपस्थित सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा बु्रनाई सेकेण्ड रोयल गोर्खा राईफलबाट एनआरएनए युकेका पूर्वयुवा संयोजक रिचार्ड गुरुङ, नेप्लिज युथ कोर्डिनेटर धिरज राई, एनआरएनए युके युवा संयोजक लालबहादुर गुरुङ (एलबिजेड) र कुमारको समेत उपस्थिति रहेको थियो । त्यस्तै, सोही कार्यक्रमका लागि नेपालबाट आएका सिजन गुरुङको पनि विशेष उपस्थिति रहेको थियो ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिनका पुनले स्वागत मन्तव्य दिएका थिए भने महासचिव राजकुमार त्रिपाठीले हेल्थ एण्ड सेप्mटीको बारेमा जानकारी र एनआरएनए युकेकी सदस्य एवं पूर्वमिस युके नेपाल गौमाया गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






