
फाइल तस्बिर
लन्डन ३० मे २०२४ । तमु धीं युके र नेपाली दूतावास लन्डनको सहकार्यमा हुने बेलायतवासी नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १५ औं संस्करण आगामी २५ अगस्ट २०२४ मा हुने भएको छ ।
वार्षिक कार्यक्रमअन्तर्गत १५औं नेपाली मेला आइतबार अगस्ट २५ तारिख (यो वर्ष बैंक होलिडे) का दिन हुन लागेको तमुधीं युकेका उपाध्यक्ष एवं १५ औं नेपाली मेलाका संयोजक परशु गुरुङले जानकारी दिए । मेला रेसकोर्सस्थित केम्पटोन पार्कमा हुनेछ । मेलाका लागि बिहान १० बजेदेखि ८ बजेसम्म समय निर्धारण गरिएको छ ।
मेलामा एम्बेसडर कप, विविध सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रमहरुमा बेलायतमा सक्रिय संघ, संस्थाहरुले सहभागिता जनाउँछन् । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायतका स्टल राखिने चलन छ ।
उपाध्यक्ष गुरुङले नेपाली मेलाको चहलपहल सुरु भइसकेको बताएका छन् । बेलायतवासी नेपालीहरुको सहभागिताको लागि सम्पूर्ण विवरणसहित अविलम्ब सम्प्रेषण गरिने भन्दै उपाध्यक्ष गुरुङले प्रतिक्षा गर्न आग्रह गरेका छन् ।
नेपाली मेलाको मूल नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । नेपाली मेलामा व्यापक जनसहभागिता हुने गर्दछ ।






