चिता । रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।
लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् ।
अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।
रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने भएका छन् । रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् ।






