मुकेश राई
मुलुकको पछिल्लो राजनैतिक विभाजनअनुसार प्रदेश नम्बर एक (कोशी)मा पर्ने चौध जिल्लामध्ये एक इलामभित्र जम्मा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ । यिनै १० मध्ये एक सुर्योदय नगरपालिका पनि हो । विसं २०७१ सालमा फिक्कल, पञ्चकन्या र कन्याम गाविसलाई एकीकृत गरेर सूर्योदय नगरपालिका बनाइएको थियो तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा अन्य गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ बाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका पुन संरचना गरेको हो । यो नगरपालिकाको क्षेत्रफल २२५.५२ वर्ग कि.मि. रहेको छ। यो नगरपालिकाको मुख्य सडक मेची राजमार्ग हो ।
यो नगरपालिकाको पूर्वमा भारतको पश्चिम बंगाल राज्यको पहाडी जिल्ला दार्जिलिङ पर्छ भने पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका र दक्षिणमा रोङ गाउँपालिका पर्दछ । यो नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ, जुन इलाम जिल्लाको पुराना बजारमध्ये एक पनि हो र यो हाल पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र मानिन्छ । यहाँबाट पशुपतिनगर र इलाम सदरमुकामतिर जाने सडक छुटिन्छ । यो नगरपालिका अम्लिसो, चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एकमात्र अलैंची विकास केन्द्र अनि नेपालकै दोस्रो पुरानो चिज फ्याक्ट्री पनि यही नगपालिकामा रहेको छ ।

अन्यन्तै आत्मीय अनि नम्र स्वभावका मानिसहरुको बसोबास रहेको यो नगरपालिका प्राकृतिक सुन्दरता र संस्कृति तथा पर्यटनलाई प्रवर्द्धन गर्ने सुर्योदय नगरपालिकास्थित कन्याम पर्यटकहरुको निम्ति उपयुक्त गन्तव्य हो । जहाँ मनोरम चियाबगान, सूर्योदय/सूर्यास्त, सुन्दर हरियाली डाँडाकाँडा, हिमशृङ्खला र तराईका फाँटहरु, रमणीय प्राकृतिक सौन्दर्यले भरिपूर्ण दृष्यावलोकन सकिन्छ । यहाँको नगरपालिका प्रशासनले नगर विकास योजना निर्माण गरी आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन विकास नयाँ शहरीकरण र आधुनिक शैलीमा व्यवस्थित गर्दै लगेको छ, जुन अत्यन्तै गर्वको कुरो हो ।
सुर्योदय नगरपालिका विविध जातजाति, धर्म, वर्ग, पेशा व्यवसाय भएका मानिसहरुको बसोबास रहेकोले आफैमा थुप्रै सम्भावनाहरु बोकेको नगरपालिका मानिन्छ । एकातिर पर्यटकीय क्षेत्रका रुपमा कन्याम अवस्थित छ भने अर्कोतिर श्रीअन्तु र पशुपतिनगरको सिमाना रहेको पूर्वीय द्वार, बौधधाममा अवस्थित बौद्ध गुम्बा अनि नवनिर्मित बुद्धको मूर्तिले अनुपम सौन्दर्य थपेको छ । लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक स्थलको रुपमा रहेको समालबुङले आफ्नो छुट्टै पहिचान बोकेको छ । यो नगरपालिकाभित्र एउटा स्नातक तहसम्म अध्ययन हुने क्याम्पस संचालित छ भने सामुदायिक विद्यालयअन्तर्गत प्राथमिक विद्यालयदेखि दश जोड दुईसम्मका ९ वटा र सामुदायिक र निजी गरी थुप्रै शैक्षिक संस्थाहरु संचालित छन् ।
स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यस सुर्योदय नगरपालिका क्षेत्रभित्र ठूला सरकारी अस्पताल स्थापना नभए पनि आइतबारेमा मेची अञ्चल आयुर्वेद कार्यालय फिक्कल र पशुपतिनगरमा प्राथमिक स्वास्थ्य केन्द्र अनि पञ्चकन्या, कन्याम, गोर्खे, लक्ष्मीपुर, समालबुङ र श्रीअन्तुमा स्वास्थ्यचौकी रहेका छन् भने वडा नं. १२ मलिममा २०७३ सालदेखि शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यस नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको रुपमा कन्याम, पन्चकन्या मन्दिर, गोर्खे, श्रीअन्तु, चित्रेगुम्बा, पशुपतिनगर लगायतका विभिन्न ठाउँहरु प्रचलित रहेका छन् भने शिक्षा र खेलकुदको गन्तव्यको रुपमा करफोक रहेको छ भने फिक्कलमा औद्योगिक विकासको प्रशस्त संभावना र पशुपतिनगर व्यापारिक सम्भावना रहेको महत्वपूर्ण स्थान हो।
आफ्नो जन्मभूमि चटक्कै छोडेर बेलायतमा बसोबास गरिरहेकाले सुर्योदय नगरपालिका भन्नाले इलामको कुन, कुन स्थान र पहिलेको गाविसहरु सुर्योदय नगरपालिकामा पर्न गएका छन् भनेर जान्नकै निम्ती मैले विभिन्न श्रोतहरुमार्फत पढेर यो लेख तयार गर्ने जमर्को गरेको छु । परदेशमा रहेर आफ्नो देश स्वदेशको सम्झनाहरु संगाल्दै बाँच्नुको बाध्यतात्मक पीडा छ, दुरी हुँदा झन् आफ्नो देशको सबै कुराहरु याद आउँछ । साथीभाइ, आफन्त, परिवारहरु आफ्नो भाषा, कला, संस्कार, संस्कृति र खानपान सबैको अभाव खट्किन्छ ।
यसैगरी बेलायतमा पनि हामी नेपालको विभिन्न स्थानबाट आ-आफ्नै परिस्थितिअनुसार आइपुगेका नेपालीहरुबीच नेपालको पुर्वीय जिल्ला इलामका सुर्योदय नगरपालिकाबाट आएर विभिन्न कर्ममा दैनिक जीवनयापन गरिरहेका धेरै भए पनि समय, परिस्थिति र भौगोलिक दुरीको कारण खासै परिचय हुन नसकिरहेको अवस्था पनि छ ।
यिनै कुरोहरुलाई मध्यनजर गरेर बेलायतमा रहँदै आएका विभिन्न क्षेत्रमा कार्यरत अनि अध्ययनरत सुर्योदय नगरपालिका निवासी इलामेलीहरुको निकै अघिदेखि वार्षिक जमघट गर्ने पहल भइरहेको थियो, जसको शुभ साईत यसैवर्षदेखि अल्डरसटमा हुने भएको छ । जुन हामी समग्र नेपालीहरुमाझ मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा सुर्योदयवासीहरुको ऐक्यबद्धता र सुर्योदयलाई पहिचान गराउने कुरोमा महत्वपूर्ण भूमिका खेल्ने कुरोमा दुईमत नहोला ।






