लिङ्देन नेतृत्वको पार्टी परित्यागसँगै राष्ट्रिय पहिचान परिषद् प्रवास युके गठन

SHARE:

कृष्णकुमार हेम्ब्या
लन्डन ८ जुलाई २०२४ । कुमार लिङ्देन नेतृत्वको पार्टी निकट प्रवास संगठन परित्यागसँगै राष्ट्रिय पहिचान परिषद् प्रवास युके गठन भएको छ ।

संघीय लोकतान्त्रिक सामाजिक मञ्च युके र संघीय लिम्बुवान सामाजिक मञ्च युके र यसका सबै शाखाहरुले बेलायतको फेल्थहाम कम्युनिटी कलेज सभाहलमा आयोजित पार्टी परित्याग कार्यक्रममा उनीहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । साथै देवीबहादुर तुम्बाहाङ्फेको नेतृत्वमा पहिचान परिषद् प्रवास युके गठन गरिएको हो । पार्टी परित्याग सभामा १०० भन्दा धेरै पहिचानवादी सदस्यहरुको उपस्थिति थियो ।

बेलायतमा “संघीय लोकतान्त्रीक सामाजिक मञ्च युके” २००७ र “संघीय लिम्बुवान सामाजिक मञ्च युके” २०१२ मा गठन भएका थिए ।

राष्ट्रिय पहिचान परिषद् प्रवास युके अहिले कुनै आमुक राजनीतिक दलसँग नरहने तर संघीय लोकतान्त्रिक सामाजिक मञ्च युके/संघीय लिम्बुवान सामाजिक मञ्च युकेमा हुँदा आर्जन गरेको पहिचानी विरासत, विचार र प्राप्त अपनत्वलाई लिम्बुवानी आन्दोलनमा निरन्तर दिनका निमित्त लिम्बुवान आन्दोलकै प्रमुख हिस्सा रहने महासचिव रामकुमार इजमले प्रस्ट पारे ।

पहिलो सत्रमा दुई दर्जनभन्दा धेरै वक्ताहरुले पार्टी परित्यागका कारण र जारी लिम्बुवान आनदोलामा आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै उनीहरुले कुमार लिङदेनको चर्को आलोचनासमेत गरे ।

सभालाई सम्बोधन गर्दै खड्कजंग आङभाङले आम अपेक्षअनुसार कुमार लिङदेनको नेतृत्वले संस्थागत विकास गर्न नसकेको र परिणाम पनि नआएको विचार राखेका थिए । अर्का वक्ता रामकुमार पोमुले लिङदेनको पछि लागेर २० वर्ष खेर गएको उल्लेख गर्दै नयाँ बाटो रोज्नु परेको जिकिर गरे । उनले लिङ्देन ‘पैसा चाहिए प्रवास सम्झने र नेतृत्व चाहिए आफ्नो मान्छे चाहिने वंशवादी रहेको आरोप लगाए ।

चुडा तुम्बाङफेले पार्टी अध्यक्ष लिङ्देन ‘भेरी इम्पर्टेन्ट’ हुनु पर्नेमा ‘भेरी इरिटेट’ भएकाले पार्टी परित्याग गर्न बाध्य भएको आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

पहिचान परिषद् प्रवास युकेको नयाँ अध्यक्ष देवीबहादुरले आफूहरु संगठित भएर बस्ने र उचित समयमा लिम्बुवान माटोका लागि आवश्यकताअनुसार सहयोग गर्न तयार रहने प्रतिबद्धता जाहेर गरे । यस्तै सुभाष जबेगु, नरकुमारी वनेम, हुमा पाहिम आङभाङ, लिला थेवे, बिष्णुमाया लिम्बू, खगेन्द्र लौती, जुरेन्द्र खजुम, अमृत तुम्बाहाङ्फेलगायतले लिम्बुवान आन्दोलनप्रति सुझावसहित ऐक्यबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा जारी लिम्बुवान आन्दोलमा सक्रिय रुपमा अवनरत लाग्ने केन्द्रीय तथा शाखा सदस्यहरुलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हेम तुम्बापो, छत्र तेयुङ, चन्द्रकला आङभाङ, बाबुराम योङ्या, धनकुमार नाल्बो, दिलीप आङभाङ, बचन लिम्बू, हरि फोम्बो, नन्द खापुङ, शुक्रराज खापुङ, हेमराज नाल्बो, दुर्गा खापुङ, लिला थेबे, नानी थेबे, तेज थेबे, खेम तुम्बाङफे, याम थेबे, कुमार खापुङ, हुमा पाहिम, लक्ष्मी श्रैष्ठ र अग्निप्रसाद केदेमलगायत थिए ।

पहिचान परिषद् प्रवास युके गठनसँगै ३ पृष्ठको निर्देशिका जारी गरिएको छ । निर्देशिकाको भाग २ बुँदा नं. ५ मा ‘नेपालको कुनै पनि राजनीतिक दल वा सामाजिक संस्थाले पहिचानको पक्षमा निष्ठावान कार्य गरेमा सहकार्य र सहयोग पुर्‍याउने’ उल्लेख छ ।

अध्यक्ष लिङ्देनमाथि निवर्तमान महासचिव रामकुमार इजमको १० आरोप
१. पार्टीको विधान, विधि, प्रक्रिया, भावना र मर्मलाई पूरै बेवास्ता गरी पार्टीलाई आफ्नो व्यक्तिगत निजी कम्पनी वा उनको आफ्नै गोजीको सम्पत्तिको हैसियतमा सञ्चालन गरेको र सुधारका सबै प्रयासहरु इन्कार गरेको ।

२. पार्टीको उद्देश्य, दर्शन, सिद्धान्त, नीति र भावनाको पुरै बेवास्ता, उपेक्षा र अवमूल्यन गरी गुटको राजनीतिमा लिप्त रही सिङ्गो संगठन र पार्टीमाथि कुठाराघात गरेको । आफ्नो स्वार्थ अनुकूल नहुँदैमा आफ्नै प्रवास समितिहरुको विरुद्धमा अर्को अमुक समितिहरु गठन गरेको र वंशवादमा लिप्त रहेको ।

३. आर्थिक मोलतोलमा समानुपातिक सभासदहरुको चयन गरी पार्टीका पुराना योग्य र क्षमतावान नेता कार्यकर्ताहरुमाथि चरम विभेद र अन्याय गरेको ।

४. दम्भ, घमण्ड, अहंकार र तानाशाही मनोवृत्तिले ग्रसित अध्यक्षले आफ्नो एकल निर्णयमा पार्टी सञ्चालन गरी सबै क्षेत्रमा आफ्नो एकल वर्चस्व कायम गरी, पार्टीका अन्य नेता, कार्यकर्ताहरूलाई भूमिकाविहीन, पेन्डुलम बनाएर पार्टीका सक्षम नेता, कार्यकर्तालाई पाखा लगाउँदै जाने रणनीतिक योजना अवलम्बन गरेको र पार्टीको राजनैतिक पारदर्शिता कहिल्यै नगरेको ।

५. दिर्घकालसम्म आफ्नो अध्यक्ष पद सुरक्षित राख्न घृणित षड्यन्त्रहरु मात्र रचिरहने र पार्टीको सिंगो आर्थिक एकाधिकार कायम राख्न पार्टीलाई सधै खुम्च्याएर राखेको ।

६. पदलिप्सा र आर्थिक आशक्तिमा मात्रै ध्यानकेन्द्रित गरेको र आर्थिक पारदर्शिता कहल्यै नगरेको ।

७. आन्दोलन, संगठन विस्तार र सुदृढीकरणको नाटक केवल कार्यकर्ता अलमल्याउने, कार्यकर्ताहरु र इमान्दार पहिचानवादी आस्थावानहरुको आँखामा पर्दा लगाउन र निजी स्वार्थपूर्तिका निम्ति अर्थ संकलनको माध्यममात्रै बनाएको ।

८. पार्टीमा आफ्नो एकछत्र हालीमुहाली कायम राख्न देशका बौद्धिक जमातलाई सधैं टाढा राखेको ।

९. राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा कहिल्यै गम्भीर नबनेको, पार्टीको प्रस्ट दृष्टिकोण र आधिकारिक धारणा नल्याएको ।

१०. पार्टीको अल्पकालीन र दिर्घकालीन योजना र दृष्टिकोण दिन नसकेको र बनेका योजनाहरु पनि व्यक्तिगत स्वार्थप्रेरित रही आर्थिक संकलन र अपचलनको दूषित मनसायले ल्याएर पैसा संकलन गरेर सबै अलपत्र पार्ने गरेको, छोडेको ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!