लन्डन । स्याङ्जा समाज यूकेले यही मे ७ मा बेलायतमा हुने स्थानीय निर्वाचनमा स्याङ्जाली काउन्सिलर उम्मेदवारलाई जिताउन अपिल गरेको छ ।
अध्यक्ष रुपा गुरुङ, महासचिव यमबहादुर गुरुङ र आमा अध्यक्ष पार्वती गुरुङले स्याङ्जाबाट बेलायतमा रहेर काउन्सिलर उम्मेदवार बनेका डा. विशाल गुरुङ, प्रतिक्षा गुरुङलगायतलाई भोट दिन आग्रह गर्नुभएको हो । डा. विशाल गुरुङ कन्जर्भेटिभ पार्टीबाट रसमोर बरो काउन्सिल अन्तर्गत वेलेस्ली र वेलिङ्टन वार्डको काउन्सिलर उम्मेदवार हुनुहुन्छ । उहाँ २०४६ सालमा स्याङ्जाको पुतली बजार नगरपालिका २, चिरुवामा जन्मिनुभएको हो । डा. गुरुङ बेलायतस्थित ग्रेटर रस्मुर नेपाली कम्युनिटीका उपाध्यक्ष र तमु धीं यूकेका महासचिवसमेत हुनुहुन्छ ।
अर्की काउन्सिलर उम्मेदवार प्रतिक्षा गुरुङ कास्कीको घान्द्रुक माइतीघर र स्याङ्जा सिरुबारी कर्मघर भएर हाल बेलायतको रेडिङ बस्दै आउनुभएको छ । पेसाले स्टाफनर्स प्रतिक्षा यसपटकको स्थानीय निर्वाचनमा लेबर पार्टीँबाट काउन्सिलर पदका लागि चुनाव लड्दै हुनुहुन्छ । प्रतिक्षाले पेसासँगै लामो समयदेखि रेडिङ क्षेत्रमा सामाजिक काम गर्दै आउनुभएको छ ।
स्याङ्जा समाज यूकेले डा.विशाल र प्रतिक्षासहित जिल्लाबाट अन्य उम्मेदवार भएमा सबैलाई जिताउनुपर्ने सन्देश इस्टमित्रहरुलाई पुर्याउन अपिल गरेको हो । ‘हाम्रो नेपाली छोराछोरीहरु यसरी कुनै क्षेत्रमा काउन्सिलर उम्मेदवार बनेको छ भने त्यस आसपासमा बस्नुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुले अत्यधिक मत दिएर विजयी गराउनु हुन अनुरोध गर्दछ’, अध्यक्ष रुपा गुरुङले भन्नुभयो ।








