कैलास मानसरोवर जाने नेपाली पर्यटक बढे, तिब्बतीमा पर्यटन प्रवर्द्धनबारे छलफल

SHARE:

काठमाडौं १२ सेप्टेम्बर २०२४ । प्रसिद्ध पवित्र स्थल कैलास मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिने भएको छ ।

चीनमा पर्यटकीय भ्रमण व्यवस्थापन गर्ने नेपाली संस्था नेपाल कल्चर एण्ड टुरिजम इन्भेष्टमेन्ट प्रालिको आयोजनामा आज यहाँ ‘सुन्दर चीनः तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धन’ विषयक कार्यक्रमको आयोजना गरी तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायी एवं सरोकारवालालाई जानकारी दिइएको हो ।

हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरुको पवित्रस्थल कैलास मानसरोवर जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । कार्यक्रममा बृहत् तिब्बत समेटिएको चीनका तिब्बत, छिङ्गहाइ, कान्सु, सिछुवान र युनान गरी पाँच प्रान्तको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिएको छ । पाँचै प्रान्तको पर्यटकीय क्षेत्रका तस्वीर र भिडियोसमेत राखेर तयार पारिएको अनलाइन पोर्टल पनि आजै सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले तिब्बत पर्यटन प्रवर्द्धन कार्यक्रमले नेपाल र चीनको पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष सापकोटाले पवित्र माउन्ट कैलाशका लागि विभिन्न चार रुटको चिनारीले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भन्दै नेपाली व्यवसायी र चिनियाँ व्यवसायीबीच ‘बिटुबी’ कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन गरिनुपर्ने खाँचो औंल्याउनुभयो ।

उनले आगामी दिनमा नेपालको पर्यटनलाई चीनको तिब्बत, मानसरोवरलगायत समग्र चीनका पर्यटकीय गन्तव्यमा प्रवर्द्धन गर्न बोर्ड सक्रिय ढङ्गले लाग्ने बताए । चीन सरकार, चीनका पर्यटन व्यवसायी संस्थासँग सहकार्य गरेर चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न लागिपर्ने उनले बताए ।

विज्ञ पुण्यप्रसाद पराजुलीले मानसरोवर यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको गुणस्तरीय पर्यटन सेवाका बारेमा नेपाली व्यवसायीले पनि जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धधर्मसँग सम्बन्धित थुपै तीर्थस्थल रहेको छ, त्यहाँ जाने नेपालीको सङ्ख्या पनि अत्याधिक छ, माग र आपूर्तिबीचको खाडल पुरेर नेपाली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने ठूलो अवसर छ ।”

कार्यक्रममा चीनका वरिष्ठ पथप्रदर्शक चाओ स्युवांगले नेपालका राष्टिय विभूति अरनिकाले सात सय वर्षअगाडि तिब्बत र बेइजिङ गएर मन्दिर स्तूपा बनाएको चर्चा गर्दै चीनका पाँचै प्रान्तमा अरनिकोले लगेको नेपाली शैलीका स्तूपा चैत्य देख्न सकिने बताए । राजधानी बेइजिङ, औद्योगिक सहर साङघाइ, तिब्बत, क्वांचौँ, शनचन, स्यामनलगायतका सहरमा नेपाली रेष्टुराँ सञ्चालन रहेको उदाहरण दिँदै उहाँले दुवै देशबीच पर्यटन क्षेत्रको आदानप्रदान बढ्दै गएको उल्लेख गरे ।

उहाँले बङ्गलादेशका पर्यटकका लागि तिब्बत मानसरोवर घुमाउने अनुमति पाएको एकमात्र कम्पनी आफ्नो रहेको उल्लेख गर्दै क्यानाडा, सिङ्गापुर, श्रीलङ्का, भारत, थाइल्याण्ड, बङ्गलादेशलगायतका दक्षिणपूर्वी एशियाको बजार विस्तार गर्न अर्को वर्ष नेपालमा शाखा खोल्ने योजना बनाएको जानकारी दिए ।

अहिले काठमाडौँबाट रसुवागढी नाका हुँदै धेरै सङ्ख्यामा पर्यटक मानसरोवर जाने गरेका छन् । हवाई मार्ग भएर पनि पर्यटक उल्लेख्य सङ्ख्यामा त्यहाँ पुग्ने गरेका छन् । मानसरोवार क्षेत्रमा पर्यटक व्यवस्थापनका लागि होटललगायत पूर्वाधार व्यवस्थित रहेको व्यवसायीको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!