बेलायतमा स्वास्थ्य उपचार नपाएर अकालमै मृत्यु हुने प्रबल सम्भावना

SHARE:

  • जय तामाङ

मानिसहरु स्वास्थ रहनको लागि हरदम प्रयास गरिरहेको हुन्छ । कोही मानिसहरु खाना कम खाएर होस वा शारीरिक अभ्यास गरेर होस आफू सँधै तन्दुरुस्त होस भन्ने चाहना गरेको हुन्छ । तर कोही कोही मानिसहरु भने मिठो अनि स्वादिलो खाना पायो भने आफ्नो स्वास्थ्यको ख्यालै नगरी आँखा नै चिम्लेर खाने गर्दछन् । मेरो पेसा नै खाना पकाउने भान्छे भएर होला म आफू पनि हरेक खाने कुरा खाँदा विशेष ध्यान दिएर खाने गर्दछु ।

कहिलेकाहीं खाने कुरामा जति नै ध्यान दिए पनि थाहै नपाई केही न केही सानोतिनो गल्तीहरुले गर्दा मानिसको शरीरमा धेरै ठूलो असर पारिरहेको हुन्छ । पहिले पहिलेको समयभन्दा अहिलेको समयमा खानेकुराहरुमा धेरै परिवर्तन भइसकेको छ । विशेष गरेर बेलायतमा खाना पकाउने भान्सेहरुले विशेष ध्यान दिएर खाना पकाउनु पर्ने हुन्छ । चौध वटा एलर्जी हुने खानेकुराहरुलार्इ विशेष ध्यान दिएर पकाउनु पर्ने हुन्छ । जस्तै गहुँबाट बनेको खानेकुरा (ग्लूटन,) अण्डा, माछा, बदाम, भटमास, तील, दूध, नट, तोरी, लुपिन, सेलेरी र सेलेरियाक, सल्फर डाईअक्साईड, समुद्री माछाहरुको खपडा कष्टासेन र मोलुक्स्स जस्ता खानेकुराहरुले मानिसहरुको मृत्युसम्म हुने गर्दछ ।

यी माथिका खानेकुराबाहेक केही अरु खानेकुराले पनि मानिसहरुलाई असर गरेको हुन्छ । च्याउ खानाले पनि मानिसको मृत्युसम्म हुने गर्दछ । तर एकदमै ध्यान दिएर खाए पनि कहिलेकाही क्रसकन्टामिनेट अर्थात् एउटा खानामा भएको ब्याक्टेरियाहरु अर्को खानामा सर्नु हो । यस्तै किसिमका खानाहरु खायो भने मानिसहरु बिरामी हुने गर्दछ । जे जसरी बिमारी भए पनि आखिरीमा उपचार गर्न जाने ठाउँ भनेको अस्पताल नै हो ।

केही महिना अघिको कुरा हो । मेरो छोरा सोहनको जिसिएसईको परीक्षा हुँदै थियो । छोराले टाउको दुख्यो म स्कूल जान सक्दिनँ भनेपछि मैले स्कूलमा फोन गरेर सोहन स्कूल आउन सक्दैन भनेर म्यासेज छोडीदिएको थिए । केही समयपछि स्कूलको शिक्षकले मलाई फोन गरेर यो परीक्षा भनेको जीवनको एउटा महत्वपूर्ण पार्ट हो यसैले बरु औषधि खाएर भए पनि उपस्थित मात्र भए पनि हुन्छ त्यसमा हामी विचार गरौला भने पछि मैले छोरालाई औषधि ख्वाएर स्कूल पठाइदिएको थिए ।
एक घण्टा केही मिनेटको परीक्षा सकेपछि म छोरालाई लिन स्कूलमा गएँ । छोरालाई ज्वरो आइरहेको र टाउको दुखेको छ भनेर भनिरहेको थियो । घरमा गएर फेरि औषधि खाए पनि ज्वरो हटेन । टाउको दुखिरहेको थियो र ज्वरो धेरै आएर होला छोरो थरथर काँपीरहेको थियो । राति ११ बजेसम्म पनि ज्वरो नघटेपछि १११ मा फोन गरे । केही प्रश्नहरु सोधेपछि हामी कल ब्याक गर्नेछौं भनेर फोन राखिदियो । एक छिन पछि फोन आयो र तुरुन्त अस्पताल लगिहाल भनेर । पछि म छोरालाई लिएर रातको ११ बजे ग्रेटवेस्टन हस्पिटलको ईमरजेन्सी शाखामा जाँदै थिएँ । छोरा हिँड्न सक्ने अवस्थामा थिएन । कारबाट ओर्लिंदा हातखुट्टा लल्याकलुलुक भएर हिँड्न नसकेपछि मैले डोर्‍याएर जसोतसो गरेर ईमरजेन्सी सेन्टरभित्र पुर्‍याएँ ।
ईमरजेन्सीमा दर्ता गरे पछि पर्खिने ठाउँमा गएर पर्खेर बस हामी बोलाउँछौं भनेपछि हामी पर्खिने कोठामा बस्यौं । त्यो कोठाको भित्ताको सूचना बोर्डमा पर्खिने समय साढे छ घण्टा लाग्ने भनेर ठूलो ठूलो अक्षरमा लेखेर राखेको थियो ।
बल्ल बल्ल १२ बजेतिर एकजना केटी आएर ज्वरो र प्रेसर नाप्दा खेरी १०४ डिग्रीको ज्वरो हनहन्ती आइरहेको थियो । छोरा सोहन सिथिल भइसकेको थियो । आफ्नो जीउलाई थाम्न सक्ने स्थिति नभएकोले मेरो जीउमा अडेस लागेर सहारा लिइरहेको थियो । ज्वरो धेरै आएकोले होला एक जना नर्सले आएर आईब्रुफेन ल्याएर दिइन् । समय त्यस्तै रातको १ बजेको थियो होला त्यही आईब्रुफेन दिने नर्सले पिसाब जाँच्नु पर्छ, पिसाब लिएर आउ भनेर एउटा प्लास्टिकको बोतल थमाई दियो । रिसेप्सनको छेउमा कुनै पनि कर्मचारीहरुलाई दुर्व्यब्यहार गरेमा सैह्य हुनेछैन भनेर पनि लेखिराखेको थियो ।

हामी चुपचाप लागेर पर्खने कोठामा पर्खिनुबाहेक अरु उपाय केही थिएन । त्यसै समयमा एक जना पुरुष मैले कुरेको साडे पाँच घण्टा भयो मेरो पालो आएन भन्दै मलिनो स्वरमा रिसेप्सनको एक जना महिलालाई सोध्दा साडे ६ घण्टासम्म समय लाग्न सक्छ अझै एक घण्टा कुर्नु पर्छ भन्दै थियो । त्यो अफ्रिका मुलको जस्तो देखिने पुरुष चुपचाप लागेर कुर्ने कोठामा गएर थपक्क बसिरहेको थियो ।

केही समय पछि फेरि अर्को एक जना पुरुष झोक्किएर आयो र रिसेप्सनमा बस्ने अर्को महिलालाई तैले मलाई ढाँटिस तेरो नाम के हो ? तेरो हाकिमलाई तुरुन्त बोला म तेरो हाकिमसँग कुरा गर्छु भनेर कराइरहेको थियो । रिसेप्सेनिस्ट भने अहिले कुनै पनि हाकिम ड्युटीमा नभएको कुरा बताइरहेको थियो । भाग्यबस भनौ या संजोगले भनौ २ बजेतिर एउटी महिला डाक्टर आएर भोलि तेरो जेएससिएसको परीक्षा छ हो भनेर छोरा सोहनलाई सोधिन् । केही समयमा नै उही डाक्टरले मैले १० जनाको पालो काटेर तँलाई जाँच गर्न आएको छु किन भने तेरो भोलि परीक्षा छ भनेर डाक्टरले भनिन् । पिसाबमा ईन्फेक्सन भएको छ तुरुन्त एन्टीबायोटिक खानु पर्छ भनेर ७ दिनको लागि एन्टीबायोटिक दिएर घर पठाइदिएको थियो ।

हामीहरु ११ बजे गएका थियौं तैपनि रातको २:३० बजेतिर मात्र घर आई पुग्यौं । एन्टिबायोटिक, प्यारासिटामोल, आईब्रुफेन खाएपछि एक हप्तामा ठीक भएको थियो । हिजोअस्तीमात्र याक द हिमालय रेस्टुरेन्ट स्विण्डनका संचालक अर्जुन याजकोय गुरुङ भाइ पनि किड्नीमा समस्या भएर सारै दुखेर ईमरजेन्सीमा बिहान ४:३० गएको बल्ल बल्ल बिहान ९:३० मात्र पालो आएको पिना गुरुङले मलाई भन्नु भएको थियो ।

म सँगै काम गर्ने सहकर्मी साबियोका आफ्नो आमाको उपचार बेलायतमा राम्रोसँग नगरिदिएपछि ईण्डिया गोआमा लगेर उपचार गरेर सन्चो भएर ल्याएको कुरा मलाई सुनाएको थियो । त्यस्तै सहकर्मी सेलेना देमेलो पनि आफ्नो घुँडाको उपचार राम्रोसँग नभएपछि ईण्डिया गएर उपचार गर्नुको लागि एक महिनाको छुट्टी माग्दा कम्पनीले एक महिना छुट्टी दिन मिल्दैन भनेपछि कम्पनीमा राजीनामा दिएर गएका थिए । एक महिनापछि सन्चो भएर आएको कुरा मलाई सेलेनाले बताएका थिए ।
युकेमा एक वर्षमा एक पटक स्वास्थ्य चेकअपको लागि जनरल प्राक्टिस अर्थात् जीपीले केही ईमेल तथा केही म्यासेजहरु पठाउने गर्दछ । मेरो श्रीमतीलाई पनि त्यस्तै म्यासेज आएको थियो ।

तर त्यो म्यासेज ६ महिना पहिला नै आउनु पर्ने थियो । म्योसेज आएपछि हामीहरुले पनि अपोईन्टमेन्ट लिनको लागि जीपीमा फोन गर्‍यौं । फोन गर्दा अहिले खाली छैन अर्को हप्ताको सोमबार फोन गर भनेर भन्दथ्यो । फेरि सोमबार फोन गर्‍यो त्यही कुरा दोहोर्‍याउँथ्यो ।

एक दिन कसो कसो गरेर बल्ल बल्ल करिब तीन हप्ता पछिको समय मिलाउन सफल भयौं । जुन दिन समय दिएको थियो त्यही दिनको तीन घण्टा अगाडिमात्र नर्स घर गयो तिम्रो अपोईन्टमेन्ट क्यान्सिल भयो माफ गर्नुहोला भनेर म्यासेज पठायो । हामीले धेरै पटक कोसिस गर्‍यौं । जहिले पनि अहिले खाली छैन खाली भएपछि हामी फोन गर्छौं भनेको पनि महिनौ बितिसकेको छ । अहिलेसम्म समय पाएको छैन ।

पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले युरोपियन युनियनलाई सदस्य बनेबापत लाखौं पाउन्ड दिनु परेको छ । त्यो पैसा उनीहरुलाई दिनुभन्दा हाम्रो नेस्नल हेल्थ सर्भिसलाई दिनु पर्छ र हामी युरोपियन युनियनबाट निस्कनु पर्छ भन्दै युरोपियन युनियनबाट निस्किए । पछि जनताले त्यो पैसा किन कता गयो किन नेस्नल हेल्थ सर्भिसलाई नदिएको भन्दा मैले भनेकै छैन भनेर जनतालाई ढाँटेको पनि धेरै भइसक्यो ।

डाक्टर नर्सहरु तलब पुगेन भनेर बेलाबखत आन्दोलन पनि गरिरहन्छ । तर जति पनि बेलायतमा काम गर्ने कामदारहरुले आफूले कमाएको तलबको १० प्रतिशतको दरले अनिवार्यरुपमा नेस्नल हेल्थ सर्भिसलाई दिनै पर्ने हुन्छ, तर पनि आफूले भनेको समयमा उपचार पाउन एकदम मुस्किल छ बेलायतमा । यस्तै तरिकाले धेरै मानिसहरुले समयमा उपचार नपाएर बेलायतमा अकालमै मृत्यु हुन पुगेको छ र मृत्यु हुने प्रबल सम्भावना छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!