काठमाडौं । प्राकृतिक वैभवताले दिएका अनुपम देनका कारण नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको विशिष्ट योगदान रहँदै आएको छ । पर्यटनको क्षेत्रमा नेपालका लागि स्थायी आम्दानीको स्रोत हो । सरकारले पर्यटन क्षेत्रलाई अझ विशिष्टिकृत गर्दै आगामी दिनमा व्यापक रुपमा नेपाल भित्र्याउने लक्ष्य राखेको छ । सरकारले २० लाख विदेशी पर्यटक भित्र्याएर भिजिट नेपाल २०२० मनाउने घोषणा नै गरिसकेको छ । लामो समयको अस्थिर राजनीतिको कारण बिकास निर्माणले गति लिन नसकेको अवस्थामा अब राजनीतिक स्थिरतासँगै देश समृद्ध बन्ने बाटोमा अगाडि बढाउन यो घोषणा सार्थक होला ? भन्ने व्यापक चासो बनेको छ ।
नेपाल रोजाई
नेपालको समृद्धिको लागि प्राकृतिक उपहारको रुपमो धेरै पर्यटकीय गन्तव्य निःशुल्क पाएको छ । नेपालको समृद्धि सम्भावनाको रुपमा थोरै लगानी बिना नै बढि आम्दानी गर्न सक्ने क्षेत्रको रुपमा पर्यटन क्षेत्र हो । नेपालको भौगोलिक बनावटको कारण समेत नेपाल पर्यटनको लागि स्वर्णीम भूमिको रुपमा लिन सकिन्छ । उत्तरमा बिश्वकै सर्वोच्च शिखर सगरमाथा देखि ८ हजार भन्दाअग्ला हिमालकै कारण प्रकृतिले नेपाललाई पर्यटन बिकासको लागि साथ अपूर्व दिएको छ । मध्य भागमा पहाडी डाडाकाँडाका साथै मनोरमन दृश्य अवलोकानको स्थान बनेको छ । पहाडबाट हिमालमा मानोरम दृश्यका कारण पर्यटनको लागि उचित गन्तब्यको रुपमा पहाडी भूभागलँई लिन सकिन्छ । यस्तौ तराईमा राष्ट्रिय निकुञ्ज, दुर्लभ बन्यजन्तुको लागि तराईका बनजंगल तथा फाडानीले सुन्दर क्षेत्रको रुपमा तराई क्षेत्र रहेको छ ।
यसरी बिश्वमै कतै नभएको भौगोलिक बनावट हिमाल पहाड र तराईको मिश्रणको कारण नेपाल हेर्न आउने पर्यटनको लागि उचित गन्तब्यको रुपमा नेपाल पर्ने गरेको छ । यसैगरी नेपाल धार्मिक र सांस्कृतिक रुपले समेत पौराणिक कालदेखि धनि मुलुकको रुपमा परिचित छ । धर्म संस्कृति अध्ययनको लागि नेपाल बिश्वकै नमुना पाठशाला बन्ने हुनाले पनि पर्यटनको रोजाईको रुपमा नेपाल पर्ने अथाह सम्भावना भएको मुलुक बन्ने देखिन्छ । नेपाल क्षेत्रफलमा सानो भएतापनि प्रकृतिक, भाषा, धर्म संस्किृति, ऐतिहासिक महत्वको क्षेत्रकै कारण नेपाल आउन चाहने पर्यटनको संख्या बढ्दो छ । तर नेपालले नेपालमा पर्यटन भित्राउनका लागि बेला बेलामा बिबिध कार्यक्रम तथा अफर ल्याउने गरेपनि अझै उल्लेखिय रुपमा बिदेशी पर्यटन नेपाल आउने सकिरहेका छैनन् । नेपालले भिजिट नेपालको नामले समय समयमा पर्यटन भित्राउने काम भएतापनि पर्यटकको लागि भौतिक पुर्वधार निमार्णमा अझै ध्यान दिन सकेको छैन । नेपाल भित्रने पर्यटन काठमाडौमै सिमित हुने गरेका छन । त्यसमाथि काठमाडौंमा देखिएको भन्द्रगोल अव्यवस्थाका कारण धेरै पर्यटन लामो समय नेपाल बस्न नसक्ने अवस्था रहेको पर्यटन व्यवसायीहरु बताउँछन ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरुले समृद्ध नेपालको नारा बेचिरहेका छन् । यो नारालाई सार्थक बनाउन राष्ट्रिय अर्थतन्त्रको मजबुती जरुरी हुन्छ । नेपालको हकमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसाय हो । प्रधानमन्त्री, मन्त्री र सरकारका मान्छेहरुले पर्यटन व्यवसायलाई ‘रेपुटेड’ उद्योगका रुपमा विकसित गर्न सके भने मात्र समृद्धिको लक्ष्य पुरा हुन सक्छ । तर अहिलेसम्म बढीभन्दा बढी पर्यटक भित्राउनका लागि कुनै नीति तथा कार्यक्रम समेत बन्न नसक्दा पर्यटनबाट नेपालले फाइदा लिन सकेको छैन । निजी क्षेत्रका केही पर्यटन व्यवसायीहरुको भरमा मात्र पर्यटन क्षेत्र चलेको व्यवसायीहरु तर्क गर्छन । विगतमा सरकारी पक्षबाट काम भन्दा गफ नै बढि हुने गरेकोले समेत पर्यटन क्षेत्रबाट नेपालले राम्रो आम्दानी अझै गर्न सकेको छैन ।
यसमाथि नेपालको पर्यटन क्षेत्रमा पछिल्लोसमय ठगि धन्दा मौलाएको देखिन्छ । पर्यटन व्यवसायमा लाग्ने केही ब्यक्तिहरुको क्षणिक लाभको कारण पर्यटन क्षेत्र बदनाम भएको छ । केही समय अघि फेक रेक्स्सुको नाममा मिलोमतो गरी ठगि धन्दाले अन्तराष्ट्रिय जगतमा समेत नेपालको बद्नाम भयो । त्यसमा संलग्नतामाथि अहिलेसम्म कुनै कारवाही गर्न नसक्ने सरकारी संयन्त्रका कारण सिंगो पर्यटन व्यवसाय नै थप बदनाम बन्छ कि भन्ने भय छ । काठमाडौको पर्यटकीय क्षेत्र ठमेलमा नेपाल छिर्ने ९० प्रतिशत पर्यटक आउने गर्दछन । तर ठमेलको भौतिक पुर्वधारको बिजोक अवस्था सरकारले देख्न सकेको छैन । ठमेल छिर्ने पर्यटकहरु सडक, ढलको ब्यवस्थापन, अब्यस्थित तारको दृश्य लगायतका कारण पर्यटकको नजरमा नेपालको पर्यटन पूर्वाधार लज्जाको विषय बनेको छ । पहिलोप्रभाव नै अन्तिम प्रभाव हुने मानिन्छ ।
के छन् अप्ठेरा ?
सन् १९७० सेप्टेम्बर २७ का दिन संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको स्थापना पश्चात सन् १९८० देखि सेप्टेम्बर २७ लाई हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले प्रविधिको अधिकतम प्रयोग गरी संसारभर पर्यटकीय गन्तव्यलाई चिनाउने उद्देश्यले ‘पर्यटन र डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारा तय गरेको थियो ।
विश्व पयर्टन दिवसको अवसरमा सरकारी स्तरदेखि पयर्टन क्षेत्रमा आवद्ध विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । पर्यटनलाई सबैभन्दा ठूलो उद्योगको रुपमा लिइन्छ । तर, नेपालमा भने उद्योगको रुपमा अझै पनि पर्यटन क्षेत्रलाई स्वीकार गरिए पनि त्यसअनुसारको व्यवहार गरिएको छैन ।
नेपाल प्राकृतिक दृष्टिकोणले पर्यटनको अपूर्व गन्तब्य हो । हिमश्रृंलाहरु, मनोरम हरियाली, जैविक साँस्कृतिक विविधतासहित शान्तिप्रय वुद्धभुमी, अनि विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो पहिचान हो । हिमाल आरोहण, पदयात्रा, धार्मिक पर्यटन जस्ता अनेकन सम्भावना भएर पनि नेपालले पर्यटन क्षेत्रमा सोचे जस्तो फड्को मार्न सकेको छैन । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न विभिन्न योजनाहरु सञ्चालन हुंदै आएको छ । संघीय सरकारको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । विदेशी पर्यटक लक्षित नेपाल भ्रमण वर्ष २०२० सुरु गर्दै गर्दा पर्यटन क्षेत्रको दिगो विकासका लागि आन्तरिक पर्यटनलाई पनि प्राथमिकता दिन जरुरी छ ।
विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन वर्ष २०२० देखी २०३० सम्मको १० बर्षको अवधिमा पर्यटन व्यवसायलाई आर्थिक विकास र रोजगारीको पहिलो स्रोत बनाउन सरकारले पहल सुरु गरेको बताएका छन् । पर्याप्त स्रोत साधन, सम्भवाना भएर पनि सहि व्यवस्थापन, सदुपयोग र प्रचारप्रसार गर्न नसक्दा नेपालको पर्यटन व्यवसाय आर्थिक विकासको महत्वपूर्ण आधार हुनबाट ओझेलमा परेको छ । मन्त्री अधिकारी भने अब यस्तो नहुने भन्दै सरकार पर्यटन विकासमा लाग्ने दावी गर्छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि सारेको विकास र समृद्धि पुरा गर्न पर्यटन महत्वपुर्ण उद्योग भएको तर्क गर्छन । पर्यटकीय क्ष्ँेत्रको विकास तथा प्रर्वद्धनका लागि प्रचार गरी बाह्य र आन्तरिक पर्यटन विकासलाई प्राथमिकतामा राख्नु पर्ने पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको बुझाइ छ । नेपालको पर्यटन विकासका लागि सन् २०११ मा नेपाल भ्रमण वर्ष सञ्चालन गरेपछि विदेशी पर्यटकको आगमनमा केहि थप भएको थियो । त्यसपछिका तथ्याङकलाई हेर्दा सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय, सन् २०१६ मा ७ लाख ५३ हजार २ सय, सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ छन । सन् २०१८ भित्रमा १२ लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य सरकारको छ ।
सरकारले तय गरेको नेपाल भ्रमण बर्ष सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल भित्रियाउने लक्ष्य लिइएको छ । टुवान्टीटुवान्टीको लक्ष्यलाई पुरा गर्न अहिलेको तुलनामा दोब्बर पर्यटक नेपाल आउनुपर्ने हुन्छ । पर्यटन क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २.५ प्रतिशत सहयोग गरेको छ । सन् २०२० भित्र यसलाई १० प्रतिशत बनाउने सरकारको लक्ष्य हो । सरकारको यो लक्ष्य प्राप्तिका लागि बढीभन्दा बढी पर्यटक ल्याउने वातावरण सृजना गर्नु आवश्यक छ ।
कानुनी ठाँठो
नेपालमा अथाह सम्भावना भएको क्षेत्र पर्यटन हो । जहाँ हजारौ नेपालीले रोजगारी प्राप्त गरिरहेका छन् । पर्यटन व्यवसायलाई उद्योगका रुपमा मानिए पनि त्यसअनुसार राज्यले पूर्वाधार बनाउन नसक्दा अहिलेसम्म निजी क्षेत्रको पहलले मात्र धानिएको छ । तर, नेपाल भ्रमण वर्ष २०२० मनाउने निर्णय गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको वर्तमान सरकारले भने यो व्यवसायलाई राष्ट्रिय आयको महत्वपूर्ण आधारको रुपमा लिएको छ । यसलाई सकारात्मक मान्न सकिन्छ । यसका लागि कतिपय यथास्थितिका नियम कानुनको परिमार्जन भने आवश्यक देखिन्छ ।
अहिलेसम्मको अवस्था, पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको मौखिक कुरा मात्रै हो । ब्यवहारमा त शून्य जस्तै छ । यो सबैभन्दा धेरै जीडीपीमा योगदान गर्न सक्ने हैसियत बोकेको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न अहिलेका नीति नियम, ऐन र कानूनको परिमार्जन संशोधन गर्न पर्यटन व्यवसायीहरुले धेरै पहिलेदेखि माग समेत गर्दै आएका थिए ।
हरेक क्षेत्रमा नीति नियम र ऐन कानून बमोजिम काम हुन्छ । उखानै छ नेपालको कानुन दैवले जानुन । पर्यटन क्षेत्रको लागि पनि त्यस्तै छ । नत नीति नियम, ऐन र कानून पुर्ण छ न ब्यवहारमा लागु हुन्छ । पर्यटन सम्वद्ध ब्यक्तिहरुले पुरानो ऐन ८० प्रतिशत संशोधन गर्नुपर्ने भएकाले नयां ऐन नै बनाउनुपर्ने बताएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पञ्चायतदेखिको कानुन बाधक बनेको दाबी गर्छन । कानुन र ऐनकै कारण पर्यटन क्षेत्रको विकास बाधक बनेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले ब्यवसायीहरुलाई सम्मान गर्ने संस्कार समेत नभएको बताएका छन् । पर्यटन ब्यवसायीहरुलाई राज्यले दुहुनो गाई सम्झने तर सम्मान भने नगर्ने गरेकोले समस्या आएको उनको तर्क छ । अकोतिर पर्यटन क्षेत्रको विकासको लागि पर्यटक कसलाई मान्ने भन्ने सोचाई पनि स्पष्ट नभएको उनको भनाई छ । नेपालमा गोरो छाला भएकोलाई मात्र पर्यटक मान्ने प्रकृत्ति गलत भएको प्रचण्डको बुझाई छ ।
यौटा उदाहरण लिउं ः हालसम्म कार्यबिधिकै भरमा चल्नु पर्ने बाध्यता भएको र ऐन नबनेकै कारण पर्यटक यातयातलाई ब्यवस्थीत गर्न नसकिएको पर्यटन ब्यवसायिहरुको गुनासो छ । त्रिभुवन विमानस्थलमा झरेपछि पर्यटकको पहिलो पाईला रहने यातायातको लागि भन्सार कर पार्कीङलगाएतका समस्या रहेको पर्यटक यातयात ब्वसायी संघका अध्यक्ष रामशरण कार्कीको गुनासो छ ।
त्यस्तै पर्यटक यातायातका समस्याका कारण ट्रेकीङमा समेत समस्या आएको ट्रेकीङ एजेन्सीज एशोशियसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालको भनाई छ । पर्यटन ऐनकै बारेमा चौतर्फी रुपमा बिरोध भैसकेपछि संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री रबीन्द्र अधिकारीले नेपाल भ्रमण बर्ष २०२० को लागि र पर्यटन विकासको लागि ६ महिनाभित्र पुरानो पर्यटन ऐन परिमार्जन गरि नयाँ ऐन बनाउने प्रतिबद्धता जनाएका छन् ।
पर्यटन मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक भित्राउनको लागि पुर्वाधार तयार गरेर सन २०२० देखि ३० सम्म ५० लाख पर्यटक भित्राउने लक्ष्य रहेको जानकारी गराएका छन् । बिशेषत पर्यटन ऐन नै पर्यटन क्षेत्रको विकासमा बाधक बनिरहेका बेला नयाँ पर्यटन ऐन ६ महिना भित्र बन्ने मन्त्रालयको प्रतिबद्धताले पर्यटन ब्यवसायीमा केही राहत मिल्ने देखिन्छ । तर, विश्वमै नेपाल पर्यटकीय गन्तब्य हो भनेर चिनाउन भनेसबै क्षेत्रबाट कसरत हुन आवश्यक छ ।






