
लन्डन १० जून २०२५ । ईलमपोखरी समाज यूकेको यही जून १४ मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित समर पार्टी हुने भएको छ ।
कार्यक्रम शनिबारको अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा हुने भएको हो । पार्टी समय दिउँसो १ देखि राति १०:३० बजेसम्म तोकिएको छ ।
कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकार अनुपा मगर र आश्रम गुरुङको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा अध्यक्ष परशु गुरुङले जानकारी दिए । उनका अनुसार ग्रीष्मकालीन कार्यक्रममा बाह्रमासे घाँटु नाच, अन्य नृत्यहरु, बाह्य खेलकुद ठेलो, फुटबल, लेडिज फन गेम पनि हुने छन् ।
लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुने सबैजनालाई अध्यक्ष गुरुङले चुले निम्तो दिएका छन् । कार्यक्रमका मुख्य आकर्षणहरुमा सबै दिदीबहिनीहरुले सम्भव भएसम्म एकै प्रकारका लुंगी नभए कुनै पनि डिजाइनको लुंगीमा पहिरिएर एकरुपता देखाउने, सल्लाहकार रुद्र गुरुङको संयोजकत्वमा वयस्क समूह, युवा समूह र बच्चाहरुको समूहमा फुटबल, सहसचिव कुमार गुरुङको संयोजकत्वमा महिलाहरुको रोचक फन गेम,कार्यसमिति सदस्य हरि गुरुङको संयोजकत्वमा युवा समूह र वयस्क समूहको ठेलो, कल्चरल सेक्रेटरी गजबहादुर गुरुङको संयोजकत्वमा स्थानीय कलाकारहरु र लोकप्रिय लोकगायिका अनुपा मगर र आश्रम गुरुङको बेजोड सांगीतिक प्रस्तुति, आकर्षक पुरस्कारहरु सहितको भाग्योदय चिट्ठा, मिठा परिकारयुक्त बीबीक्यूको व्यवस्था र विभिन्न प्रकारका पेयपदार्थको व्यवस्था छन् ।






