एटा संवाददाता
लन्डन । नेपाली संघीय समाज युकेको अध्यक्षमा बालकृष्ण राई सर्वसम्मत चयन भएका छन् ।
फानबोरोस्थित स्यामलकोडी कलेज हलमा गत ६ अक्टोबरमा भएको तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
चार सहअध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक सचिव चयन गरिएको छ । छानिएका सहअध्यक्षहरुमा वसुन्धरा याख्खा राई, कमलप्रसाद राई, रत्न थापामगर र बल्लभ गुरुङ छन् भने उपाध्यक्षहरुमा विमलाकुमारी राई, राजकुमार राई र दाबा स्याङ्बो छन् ।
महासचिवमा मिलनचन्द्र राई, सचिवमा डा. प्रमोद कोयी चयन भएका संघीय समाज युकेले जनाएको छ । सदस्यमा राजेन्द्र लिम्बू चयन भए । बाँकी सदस्य नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।
अधिवेशन संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले उद्घाटन गरेका थिए । संघीय समाज युके समाजवादी फोरम नेपालको प्रवास संगठन हो ।
अधिवेशनमा नेतृ सुशीला श्रेष्ठको संयोजकत्वमा अध्यक्ष मण्डल निर्माण भएको थियो । विधान संशोधनलगत्तै निर्वाचन समितिले उम्मेदवारी आव्हान र फिर्ता लिने समय घोषणा गरेको थियो । जम्मा ११ जनाको सशुल्क उम्मेदवारीलगतै सहमतिमा
नयाँ नेतृत्वको नामावली निर्वाचन मण्डलका सचिव विश्वासदीप तिगेलाले घोषणा गरेका थिए ।
निर्वाचित सबैलाई निर्वाचन मण्डल संयोजक टेकबहादुर थापाले प्रमाणपत्र प्रदान गरे । वरिष्ठ नेता राईले शपथग्रहण गराएका थिए ।
समाजका अध्यक्ष कमल गुरुङको सभापतित्वमा भएको अधिवेशनमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालबाट आमन्त्रित अतिथि सङ्घीय समाजवादी महिला फोरम नेपालकी इञ्चार्ज सुशीला श्रेष्ठ, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, नेपाल आदिवासी जनजाति महासङ्घ युकेका महासचिव खुसी लिम्बूले शुभकामना दिएका थिए ।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घकी अध्यक्ष प्रमिला लाबुङ राई, नेपाली संघीय समाज युरोपका अध्यक्ष पीजी शेर्पा, वेल्जियम अध्यक्ष नेत्र थापामगर, भक्तबहादुर दुरा, नरेश गुरुङ, ज्ञानराज राई, धर्मबहादुर तामाङ, चन्द्र गुरुङ, पूर्ण लक्सम, पदम गाहा, टेकबहादुर थापा, भगवान चाम्लिङ, विमलाकुमारी राईलगायतले पनि शुभकामना व्यक्त गरे ।
रत्न थापामगरको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई महासचिव कमलप्रसाद राईले सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष मण्डलको नेतृत्वमा महासचिवको कार्यप्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरिएको थियो । सहभागी प्रतिनिधिहरुले सुझावसहित पारित गराए ।






