
पाँचथर चिलिङदेन याक्थुङहरूको उद्गमस्थलको रूपमा चिनिन्छ । त्यही पवित्र माटोमा जन्मिएकी थिइन् निरन्ता नेम्बाङ । गाउँको हिलोमाटोमै खेल्दै हुर्केकी उनी, मेलापात र गाईबाख्रासँग रमाउँदै जीवनका अर्थहरू सिकिरहेकी थिइन् । गाउँको सुन्दरताजस्तै निरन्ताको बाल्यकाल पनि सुन्दर थियो । अचनाक आमाको निधनपछि निरन्ताको जीवन साचेझैं भएन ।
निरन्ताले उच्च शिक्षा प्राप्त गर्न पाइनन् । तर जीवन भने शिक्षालयको पर्खालभित्र मात्रै सीमित भएन । जीवनका वास्तविक पाठहरू उनले मेलापातमा, झरनाको संगतमा र आमाले छोडेका सम्झनाका पालामहरूबाट सिकिरहेकी थिइन् । रुखको छायाँमा बिसाउने समय आउँथ्यो, जब फुर्सदमा मन शून्य हुन्थ्यो, उनी आमालाई सम्झिन्थिन् । उनी भन्थिन्, ‘सम्झना त बितेर गएका मानिसहरुकै आउँदो रहेछ ।’
निरन्ताको हृदयमा आमाको स्वर गुञ्जिरहन्थ्यो । आमा आफै पनि राम्रो गाउने गर्थिन् । बच्चैदेखि आमाले गाएका पालामहरू सुनेर हुर्केकी उनले कहिलेकाहीं नोटबुकमा टुक्रा–टुक्रामा ती पालामका हरफहरू लेखेकी थिइन् । “गाउन सक्छु कि सक्दिनँ” भनेर मनमा प्रश्नहरू उठिरहन्थे ।
तर समय फेरिएको थियो । युट्युबजस्तो डिजिटल माध्यमले गाउँघरका लुकेका प्रतिभालाई अघि ल्याउन थालेको थियो । निरन्ताले पनि एकदिन हिम्मत गरेर मोबाइलमा पालाम साम्लो अपलोड गरिन् । त्यो आवाज, त्यो सरलता, त्यो आत्माको स्पर्श श्रोताहरूले मन पराए । धेरैले उत्साहित पार्न थाले, “निरन्ता, तिमी गाउँमै सीमित नहौ । स्टुडियोमा जाऊ, रेकर्ड गर ।”
त्यही उत्साह र मायाले उनलाई अगाडि बढ्न प्रेरित गर्यो । आफू एक्लो र निराश भएको समयमा आमा सम्झेर मनको अन्तकरणबाट पालाम गुनगुनाउँदा गुनगुनाउँदै उनी कलाकार भएको, आफैलाई थाहा भएन । त्यो आवाज अब सिर्फ पालामको स्वर थिएन, त्यो एक समर्पण थियो—आमालाई, आफ्नो पहिचानलाई र लिम्बुवानी माटोलाई ।
आज पनि जब निरन्ता स्टेजमा गाउँछिन्, उनको आँखाभरि गाउँको मेलापात देखिन्छ र उनको स्वरमा आमाको स्पर्श । उनको संगीत यात्रा एउटा साधारण गाउँकी छोरीको असाधारण आत्मसंघर्ष र पहिचानको खोजको कथा हो ।
तिनै पालाममा समर्पित गायिका निरन्ता नेम्बाङ बेलायतको पालामी सांगीतिक यात्रामा छिन् । उनलाई सुन्ने, हेर्ने र मन पराउने प्रशंसकहरु धेरै छन् ।
निरन्ता नेम्बाङ पालाम गायनमा गहिरो याक्थुङ भावनासहित याक्थुङ लाजेको सुगन्ध र समर्पण झल्कन्छ । आवाजको मिठासले श्रोतालाई मन्त्रमुग्ध बनाउँछ । जति मिठासका साथ पालाम गाउने गर्छिन्, त्यत्तिकै सरलता र आत्मीयता उनका बोली र प्रस्तुतिमा देखिन्छ । त्यसैले त दर्शकहरू मात्र होइन, सहकर्मी कलाकारहरूले पनि उनलाई एक प्रेरणास्रोतका रूपमा हेर्ने गर्छन् । पालामको दुनियाँमा धेरै याक्थुङ युवाहरु पालाम रेकर्ड गरी चर्चा कमाइसकेको अवस्थामा समेत निरन्ता पाँचथरकै चिलिङदेन तिरै घाँस दाउरा मेलोपातमा रमाउँदै थिएन । उनी समकालीन याक्थुङ कलाकारभन्दा धेरैपछि यो क्षेत्रमा प्रवेश गरे पनि तर छोटो समयमै पालाम साम्लोमा सफलताको फक्तालुङ उक्लि सकेकी छिन् । खासगरी महिला पालाम गायिकाहरु प्राय: गाउँछन् मात्र । तर निरन्तासँग गायनका अतिरिक्त पालामी भाका र शब्द संकलनमा समेत अब्बल छिन् । यी सबै कला उनले आमाबाटै प्राप्त गरेको स्वीकारोक्ति छ ।
निरन्ताले दुई दर्जनजति उत्कृष्ट पालामी शब्दहरु संकलन गरेकी छिन् । पालाम रचना हुन नसक्ने उनको अरुभन्दा फरक याक्थङ चेत छ । चार वर्षमा उनले दुई सयभन्दा धेरै पालाम गाइन् । पालामसँगै हाक्पारे साम्लो, तामओके साम्लो र केलाङ साम्लो विधामा पनि उनको उतिकै दख्खल छ । पालाम साम्लोमा उनलाई सर्वाधिक रुचाएको थाङबेन जोडी सुमन हुन् । सुमनसँगै, जीवन केदेम्बा, शिव सम्बाङफे, दिवस नेम्बाङ धेरैसँग गाएकी छिन् ।
भ्जुज बढाएर नाम दाम आर्जन गर्नुभन्दा याक्थुङ साम्यो साक्थिम जोगाउन उनको प्राथमिकता रहेको छ । पान्थरे, चारखले, छथरे, फेदापेजस्ता थुमपिछेका पालामी भाकाहरु हुन्छ्न् । निरन्ता जुनसुकै थुममका भाका खुलेर गाउन अब्बल छिन् ।
अरु भाषाभाषी संगीतजस्तो पालाम म्युजिक कक्षामा सिकिने विषय होइन, निरन्तराको बुझाई हो । गाउघरतिर बाजेबजु अग्रजहरुबाट सुनेका भाका र शब्दहरुनै याक्थुङ जीवन सुहाउदो हुन्छन ।
निरन्ता नेम्बाङको आवाज, हाउभाउ, आत्मविश्वास र प्रस्तुतीकरणले उनलाई अन्य पालाम गायकगायिकाभन्दा अलग बनाएको छ ।
पालाम केवल गीत होइन, याक्थुङ समाजको जीवन, संस्कृति, रहनसहन र इतिहास बोकेको मौलिक कला हो । निरन्ता नेम्बाङले यसलाई जीवन्त राख्न र नयाँ पुस्तालाई समेत प्रेरित गर्न गरिरहेको प्रयास उउदाहरणाीय छ । विशेष गरी प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै मौलिक पहिचानसँग जोडिराख्न उनले खेलेको भूमिका अतुलनीय छ ।
उनको अनुहार, आँखा, शरीरको हाउभाउ सबैकुराले पालामको भाव झल्काउँछ । स्टेजमा उभिंदा उनको आत्मविश्वास र सरलता देखेर जो कोही प्रभावित नहुने सायदै होलान । यसरी, निरन्ताले पालाम गायनलाई मात्र होइन, याक्थुङ पहिचानलाई पनि सशक्त बनाउँदै लान्छिन ।
निरन्ताको पालाम गायनले एक अद्भुत लय सिर्जना गर्छ । उनको आवजको मिठास, तालको पकड, अभिनयको कौशल र सांगीतिक प्रस्तुतीकरणमा गहिरो समर्पण झल्किन्छ । विशेषगरी लिम्बू समुदायको मौलिक पालाम साम्लोमा उनको समर्पणले छुट्टै पहिचान दिलाएको छ ।
निरन्ताको लयबद्ध स्वरले आम दर्शक लट्ठ पार्छनै । पालाम साम्लो, स्वर, स्टेज सो र अभिनयमा बिषेश दखल भएकै कारण उनको कलाले याक्थुङ लाजेको अदभुद सुगन्ध फैल्याइ दिन्छ । निरन्ताको आँखा, अनुहारदेखि सिंगो शरिर पालामी भाकामा फक्तालुङझै चम्किन्छ ।
मिम्जिरेन हिम्हा लुन्देबेरो,
मिम्जिरे चोत्लुङ चोन्देबेरो ।
प्रस्तुतिः कुवाकुजा






