लन्डन २९ जून २०२५ । बेलायतमा रहेका नेपाली समुदायका लागि एक सन्देशमूलक र सांगीतिक सौन्दर्यले भरिएको गीत ‘भिरैको गुराँस’ सार्वजनिक भएको छ ।
बागलुङ्गे समाज यूकेको वार्षिक भेटघाट-२०२५ मा नजिकिँदै गर्दा समाजकी पूर्वअध्यक्ष तथा समाजसेवी छविमाया पुनको विशेष प्रस्तुतिमा ‘भिरैको गुराँस’म्युजिक भिडियो दर्शकमाझ ल्याइएको हो । म्युजिक भिडियो गायक राजेश बर्देवाको युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।
गीतमा गायक तथा संगीतकर्मी युवराज मगरको शब्द र सङ्गीत रहेको छ । स्वरमा भने भ्वाइस अफ नेपालका रनरअप तारा श्रीस मगर र लोकप्रिय उद्घोषक तथा गायक राजेश बर्देवाको सशक्त उपस्थिति रहेको छ।
सुनौलो सालैजो भाकामा आधारित यस गीतले नेपाली मौलिकता र प्रकृतिप्रेम झल्काउने कोसिस गरेको छ। भिडियोमा नेपाली फिल्म क्षेत्रका ख्यातिप्राप्त अभिनेता धिरेन शाक्य, नवप्रतिभाशाली मोडल सोमिया काला मगर, मनोज गुरुङ र सञ्जना गुरुङले अभिनय गरेका छन्। भिडियोको छायांकन, सम्पादन र प्रस्तुतिले गीतलाई अझ आकर्षक बनाएको छ।
गीतलाई आफ्नै सांस्कृतिक जरा र पहिचानसँग जोडिएको सन्देशवाहक प्रयासका रूपमा लिइएको छ । छविमाया र कलाकारहरुले सम्पूर्ण दर्शक, समर्थक र शुभचिन्तकहरूलाई गीतलाई हेर्न, लाइक, कमेन्ट र सेयर गर्न आग्रह गरेका छन् ।
म्युजिक भिडियको निर्देशन दीप गुरुङले गरेका छन् भने गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सम्पादन पदम सुवेदी, सिनेमाटोग्राफर बिजय लामा र टिमले भूमिका खेलका छन् ।






