लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

SHARE:


काठमाडौँ १३ जुलाई २०२५ । नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ।

साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो सङ्गीतिक समूह आगामी अगस्ट ९ गते बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ। यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्ट ३ तारिखमा ब्यान्डले अपूर्व सफलता हासिल गरेको थियो।

त्यो एउटा ब्यान्डको कन्सर्टमा मात्र सीमित नरही, नेपाली गीत–सङ्गीतलाई पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सम्मानित मञ्चमा उत्तिकै भव्यताका साथ प्रस्तुत गरिएको क्षण पनि बन्न पुगेको थियो। त्यतिबेला सात हजारभन्दा बढी दर्शक उपस्थित थिए। नेपथ्यले आजसम्म बन्द सभागृहभित्र पाएको त्यो नै सबैभन्दा भव्य दर्शक उपस्थिति हो।

‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिने मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्ड व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।

१२ वर्षअघिको वेम्बली अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन्। ‘हामीलाई पहिले पनि श्रोता–दर्शकले उत्तिकै माया गर्दै आएका थिए,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ।’

त्यतिबेलाको माहोल अमृतको आँखामा अझै झलझली सम्झना भइरहन्छ। ‘त्यत्रो विशाल दर्शकदीर्घाबाट आएको आवाज, ताली, हल्लिएका हात र जताततै बलिरहेको मोबाइलको उज्यालोले मेरा खुट्टालाई यस्तरी लुलो बनाइदिएका थिए कि सोझो अडियोस् भन्नकै खातिर बल लगाएर टेक्नुपरिरहेको थियो,’ उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्णरूपमा दर्शकमा समाहित गरिदिएको थिएँ।’

नेपथ्यको यसपटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दै छन्।

बेलायत यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक तथा व्यवस्थापकसहित १४ सदस्यीय समूह सहभागी हुनेछ। मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

यति बेला बेलायतभर एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनुमानित तथ्याङ्क छ। आफूसँगै नेपाली सङ्गीतको आस्वाद बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखी नेपथ्यले यस यात्रालाई उच्च प्राथमिकतामा राखेको छ।

पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ।

‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको सोधपुछ सुरु भइसकेको छ।’

दीपेन्द्रका अनुसार लन्डनबाहिर बसोबास गर्ने दर्शकलाई पनि सहभागी बनाउन अनुकूल वातावरण तयार पार्न भरमग्दुर प्रयास भइरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!