सिसेक्पा तङनाम: याक्थुङ जीवनदर्शन र प्रकृतिप्रतिको आस्था

SHARE:

कृष्ण हेम्ब्या

याक्थङ जतिले चारवटा तङनामहरु (याक्वा, सिसेक्पा, चासोक र कक्पेक्वा) मनाउँछन् । यी चारैवटा तङनामहरु हाम्रा आदिम पुर्खा सावा येत्हाङहरु कृषि युग प्रवेश समयमा नै सुरुवात भएको मान्न सकिन्छ । यी चार चाडहरू मौसमअनुसार घुमेर आफै आउँछन् ।

‘तङनाम’ प्राचीन याक्थुङ मुन्धुमी पानबाट आएको मानिन्छ । यसको भाषिक संरचना अनुसार  ‘तङ’ को अर्थ मिलन, समय वा अवसर हुन्छ । घामलाई याक्थुङ पानमा  ‘नाम’ हो । घाम अर्थात् सूर्य, जसको प्रकाश र तापले पृथ्वीको सम्पूर्ण जीवन चक्र सञ्चालन हुन्छ । मौसम परिवर्तन, खेतीपातीको समय, जीवन चक्रको सुरुआत र अन्त सबै कुराको सूचक नाम (घाम) को गतिमा निर्भर हुने भएकाले समय चक्र अनुसार आइपुग्ने पर्व तङनाम हो । यस्ता पर्वहरु केवल उत्सवको रूपमा मात्र नभई याक्थुङहरुको सामाजिक, धार्मिक र सांस्कृतिक अस्तित्वसँग जोडिएको एउटा चक्रबद्ध परम्परा हो ।

मूलत: याक्थुङ चाडपर्वहरु पुर्खा, प्रकृति र कृषिसम्बन्धी छन् । खासगरी कृषि चक्रअनुसार विभिन्न समयमा मनाइने तङनामहरुको आफ्नै महत्त्व छन् । याक्वा तङनाम अन्न बालीको बीउ विजन लगाउने खेती तयारीको प्रमुख पर्व हो । सिसेक्पा तङनाम साक्नाम (अनिकाल) खेद्ने, चासोक  तङनाम बाली भित्र्याउने र अन्तमा कक्पेक्वा तङनाम नयाँ वर्षको रुपमा मनाइन्छ । बलिहाङ तङनाम चाहिँ प्रकृति र कृषिसँग सम्बन्धित नभएकाले यसलाई याक्थुङहरुको प्रमुख चाडपर्वको रुपमा नआइ सहायक मात्र हुन् ।

आजकको कुवाकुजा बहस सिसेक्पा तङनाम हो ।

सिसेक्पा तङ्नामको उत्पति

सिसेक्पा तङनाम कसरी सुरुवात भयो भन्नेबारे हाम्रो पुर्खाहरुले निर्माण गरेको एउटा मुन्धुम यस्तो छ:

हाम्रो पहिलो पुर्खा, मुजिङना खेयङनाका छोरा सुसुबेन लालाबेनका आफ्नै सन्तान सुच्छुरू सुहाम्फेबा र छोरी तेल्लारा लाहाङदङ्गनाका संसर्गबाट १७ जना सन्तान जन्मिए । संख्या धेरै भएकोले पछि तिनीहरूलाई छुट्याउनु पर्ने आवश्यक भयो । सुन चाँदीका चाल्नी प्रयोग गरेर सन्तानहरूको विभाजन गरियो ।

चाल्नीबाट तल झरेका आठ भाइ आमा लाहाङदङ्नाको पक्षमा परे भने माथि रहेका आठ भाइ बाबु सुहाम्फेबाको भागमा परे । चाल्नीमा अड्किएकी एकमात्र छोरी भने पछि बाबु सुहाम्फेबाको पक्षमा नै परिन् । बाबुतर्फ परेका आठ भाइ र एक बहिनी माथि मुरिङला–खारिङला गइ बसे । तिनीहरू पेगिफङसाम (फेदाङ, साम्बा, येवा/येमा) रूपमा परिचित भए । उता आमा लाहाङदङ्गनातर्फ परेका आठ भाइ सावा येत्हाङ नामले परिचित हुँदै तलतिर झरेर बसोबास गर्न थाले ।

सावा येत्हाङ पाङभेमा जन संख्या वृद्धि भएर गयो । माङहाङको पालामा एउटा ठूलो खडेरी परेको थियो । खेतबारी, वन जंगल सबै सुक्खा भए । जनता भोकै प्यासै मर्न थाले, अनिकालले च्याप्यो । एक सच्चा शासकको नाताले माङहाङले जनताको दुःख सहन नसकी दिनरात माङ्सेवामा तल्लीन भए । एक रात सपनामा उहाँलाई तागेरानिङ्वाफु युमा माङको दर्शन भयो । उनिप्रति माङ प्रसन्न भइ “तिमीले धेरै सेवा र प्रार्थना गर्‍यौ, भोलि बिहानै खेतबारीमा जाऊ, सबै पाकेको देख्नेछौ । त्यो खाएर जनताको जीवन बचाऊ ” भन्नु भयो ।

नभन्दै भोलि बिहानै माङ्हाङ उठेर हेर्दा खेतबारीमा भट्मास सिमि पुरै पाकेर खाउँखाउँ लाग्दो देख्यो । पुरै हरियाली फर्सी, काक्रा, इस्कूस, बर्खेधान अनेकौं थरीका फलेको थिए । माङ्हाङ्ले सबै जनतालाई बोलाएर “अब यो तागेरा निङ्वाफु र युमा माङ्को देन हुनाले सबै चिजबिज सफा गरी सहकाल आइज, अनिकाल जा” भन्दे नाङ्लो ठटाएर अगुल्ठोसँग दोबाटोसम्म पुर्‍याउनु भन्नुभयो । सबैले त्यसै गर्न थाले । त्यसो गर्दै जाँदा पछि एउटा राम्रो संस्कृति हुन गयो र यसलाई विशेष साक्नाम अर्थात् अनिकाल खेद्ने सिसेक्पा तङनामको रुपमा मनाउन थालियो र अहिलेसम्म मनाइँदै आएका छौं ।

‘साक्च्योङ’ अर्थात् अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अपनाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात् साउने संग्रान्ती चाडको रुपमा विकसित भएको अर्को याक्थुङ मुन्धुम पनि छ । खडेरीबाट उत्पन्न अनिकाललाई प्रतिकात्मक रुपमा साक्च्योङ’ भनिएको होला । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याँक्ने चाडका रुपमा पनि लिन्छन् ।

अनिकालमा जीवन बचाउने उपायको सिसेक्पा तङनाम

‘सि’ मृत्यु, ‘साक’ अनिकाल, ‘साक्मा’ छेक्ने आदि अवस्थाका शब्दहरु मिलेर अनिकालमा जीवन बचाउने उपायका सिसेक्पा बनेको हो ।

अहिले भन्दा हाम्रा पुर्खाहरुको जीवन निकै कठिन थियो । प्रकृति सधैँ एकै स्वरूपमा रहँदैन । विपत्ति र संकटले गम्भीर चुनौतीहरू खडा गर्छ नै । अनिकाल, खडेरी, महामारी र अकाल मृत्यु हाम्रा पुर्खाहरूले भोगेका यस्तै संकटहरूले जीवनको अस्तित्व नै संकटमा पार्थ्यो । तर उनीहरूका बुद्धि, अनुभव र सामूहिक प्रयासले यस्ता कठिनाइहरू पार गर्ने अनेक उपायहरू पनि जन्माए । त्यही ज्ञान र उपायहरूको सम्झना र सम्मानमा मनाइने एक गहिरो अर्थ बोकेको पर्व हो सिसेक्पा तङनाम ।

जीवन र संकटबीचको संघर्षलाई समेट्ने सिसेक्पा तङनाम हो । अनिकालबाट मानिसको मृत्यु हुन्छ । मृत्युदेखि बच्न अनिकाल खेद्नु पर्‍यो । मृत्यु सँगको सामना गर्ने उपाय, र अनिकाल जस्तो संकट रोक्ने प्रयास दुवै धारणा जीवनको गहिरो सन्देश बोकेका छन् । यो हाम्रो इतिहास, सीप, सामूहिक चेतना र विज्ञानप्रतिको समझदारीको प्रतीक र एक प्रकारको चेतनात्मक अभ्यास पनि हो । मानिसको जीवनमा अनेक सङ्कटहरू आउँछन् । र, त्यसको सामना कसरी गर्ने भनेर तयार हुनु पर्ने ज्ञान हामीलाई सिकाउँछ । पर्व मनाउने क्रममा हामी आफ्ना पुर्खाहरू सम्झन्छौँ, अनुभवहरू बाँड्छौँ र भविष्यका लागि योजना बनाउँछौँ । यसले सामाजिक एकता, आत्मबल र व्यवहारिक बुद्धिमत्तालाई समेत बलियो बनाउँछ नै ।

सिसेक्पा तङनामको सांस्कृतिक महत्त्व

सिसेक्पा तङनाम याक्थुङ जातिको जीवन दर्शन, संघर्ष र प्रकृतिप्रति कृतज्ञता दर्शाउने मौलिक कृषिमा आधारित चाड हो । कृषकहरूको दृष्टिले हेर्दा, चैतदेखि असारसम्मको समय अत्यन्तै कठिन रहन्छ । यो समयावधिमा भकारीका अन्न सकिएका हुन्छन् । खेतीपातीमा व्यस्तता चरम सीमामा पुगेको हुन्छ र यही समयमा प्राकृतिक प्रकोपको डर पनि उत्तिकै रहन्छ । बाढी, पहिरो, हावाहुरी र जङ्गली जनावरको आक्रमणले कृषकहरूलाई चिन्तित बनाउँछ ।

असारको अन्त्यतिर अन्नबाली पाक्न थाल्छ । रोग व्याध र प्राकृतिक प्रकोप कम हुँदै गएपछि कृषकहरूमा राहतको सास फेर्ने समय आउँछ । सिसेक्पा तङनाम त्यही खुसी र आशाको प्रतीक हो । यो पर्व वर्षभरको कठिन परिश्रमको समाप्ति, बाँचेर आएको सुखद अनुभूति, र आगामी दिनप्रति आस्था र शुभकामनाको सङ्केत पनि हो । सिसेक्पा तङनामलाई कृषकहरूको आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवातको रूपमा पनि हेर्न सकिन्छ । दिन छोटिँदै जानु, अन्नबाली पाक्दै जानु र मौसम अनुकूल बन्नु यस पर्वसँग गहिरो सम्बन्ध राख्दछ । यस चाडको माध्यमबाट याक्थुङ समुदायले प्रकृतिको संरक्षण, परिश्रमको सम्मान र समुदायमा आपसी मेलमिलापको भावना प्रवाह गर्ने कार्य गर्छन् ।

कसरी मनाउने ?
खासगरी घरका साना केटाकेटीहरू स्थानीय वनजंगल वा आफ्नै बारीबगैंचामा गएर सिदिंगवा, कुकुरदाहिने, कुरिलो, सिस्नु, बर पीपलको पात, सिरुको पात, बारीमा भरखरै फल्दै गरेका अन्न र अन्नका पात मुन्टाजस्ता वस्तु संकलन गरिन्छ । सिदिंगवा, कुकुर दाहिने, कुरिलो, सिस्नु, अगुल्टो सिरुको पातहरु साक्नाम च्योङ खेद्ने अर्थात् “अनिकाल” जस्तो प्रतिकूल अवस्थालाई परास्त गर्ने प्रतीकात्मक हतियारका रूपमा लिइन्छ ।

साँझपख, ढल्किँदो घामसँगै घरको मूल ढोकामाथि र वरिपरि हरियो बाबियो र खरको डोरीमा बाँधिएका ती फलफूल, अन्न, वनस्पति लहरै टाँगिन्छन् । यसको अर्थ, यो समय प्रशस्त अन्न पाकेकाले गर्दा हामी कुनै अनिकालसँग डराउँदैनौँ । यदि अनिकाल आयौ भने हामीले साक्नाम च्योङ हतियारले छेकिसकेका छौँ भन्ने साक्नाम रोक्ने प्रतिकात्मक रणनीति हो ।

सबैले भात, मासु, जाँड पानी खाएर पेट टन्न भरि सकेपछि, हातमा अगुल्टो, दियालो, नाङ्लो आदि लिएर घरका कुनाकाप्चा, अगेना, मूल थाम घुम्दै नाङ्लो ठटाइँदै साक्नाम च्योङ मुन्धुम पुकारेर उच्च स्वरमा “अनिकाल जा, सहकाल आइज” भन्दै बाहिर निस्केर घरलाई एक फन्को लगाएर, घर नजिक दोबाटो/चौबाटो वा खोला खोल्सीमा विसर्जन गरिन्छ ।

साक्नाम च्योङ मुन्धुमः

सर्लङ सोए, सर्लङ सोय
साक्नाम पेगेरु यारुनाम तेरुओ
साक्नाम पेगेरुओ हिङनाम तेरुओ 
साक्नाम पेगेरु नुवाम तेरुओ
साक्नाम पेगेरु हाङहाङनाम तेरुओ 
मेन्नुमेन्दा पेगेरुओ, नुमातामा तेरुओ 
तुक्मा लाःक्मा पेगेरुओ, नुवातावामा तेरुओ 
लाम्बो खक्वा पेगेरुओ, योम्जाङवा तेरुओ
तुक्मा लाक्मा तुङ पेगेरु, नुमातामा तगेरुओ । 

(डिबि आङबुङ)

साक्नाम च्योङ मुन्धुमको सार व्यक्ति, परिवार र समाजमा भएका रोग व्याध, रिस राग, दुर्भाग्य आदि नकारात्मक पक्षहरूलाई भगाउने र समृद्धि, सहकाल, स्वास्थ्य, नयाँ अवसरहरूलाई स्वागत हो ।

घर वरिपरि घुमिसकेपछि साक्नाम च्योङ विसर्जन गर्न घरको पश्चिम तिर नजिकैको दोबाटो/चौबाटो वा खोल्सामा पुगिन्छ । त्यहाँ एउटा रेखा कोरिन्छ । त्यो रेखा प्रतिकात्मक रूपमा सहकाल र अनिकालबीचको सीमारेखा मानिन्छ । त्यसपछि हातमा सिदिंगवा, युक्विबा, सिस्नुजस्ता हतियार लिएर अनिकाललाई सो रेखाबाट प्रवेश निषेध गरिएको मुन्धुममा चेतावनी दिइन्छ । खुट्टाको कुर्कुच्चालाई भुइँमा थेचारे झैँ गर्दै, अनिकाल जाऊ है, परपर जाऊ है, फेरि फर्केर नआऊ है, यता नआऊ है, अटेर गरेमा अगुल्टोले हान्छौं, काँडाले घोची दिन्छौँ, भाग है भनी थुपारिएको आगोलाई भुर्र भुर्र पार्दै अनिकाललाई बाटो छेक्ने काम गरिन्छ ।

साक्नाम मेन्नुङङे पेगोरुओ 
केनुःङगर मिधप्पु चिओरु केजारो
सिदिःङबा तिःङले चिउःक केजारे
युक्निबा फेयारे चिहेक केजारो 
(डिबि आङबुङ) 

बिसाउनी
सिसेक्पा तङनाम, हाम्रो एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो पर्व विशेषगरी अनिकाल, रोग व्याधि, दैवी प्रकोप र सामाजिक समस्याहरूलाई टाढा भगाउने र नयाँ ऊर्जा ल्याउने विश्वाससाथ मनाइन्छ । परम्परागत रूपमा हरेक याक्थुङ घरमा यो पर्व मनाउने चलन छ ।

पहाडको गाउँघरमा अझै पनि परम्परागत विधिअनुसार यो पर्व श्रद्धापूर्वक मनाइन्छ । तर आजकाल सहरमा बस्नेहरू खेतीपातीसँग प्रत्यक्ष सम्बन्धमा नरहेकाले यो पर्व पहिलेको जस्तो भव्य रूपमा मनाउने गरेका छैनन् । हालका दिनमा सामूहिक रूपमा कुनै ठाउँमा भेला भई, यालाङ, केलाङ, माङसेवा र परम्परागत भेसभुसासहित सिसेक्पा तङनाम मनाउने चलन बढ्दै गएको छ । सामाजिक सञ्जालमा शुभकामना सन्देश आदानप्रदान गर्दै यो पर्व मनाउने आधुनिक अभ्यास पनि देखिन्छ ।

सिसेक्पा तङनामलाई केवल अनिकाल खेद्ने पर्वको रूपमा मात्रै लिनु उचित हुँदैन । मुन्धुमविद् तथा मानव शास्त्री डिबि आङबुङकाअनुसार यो पर्व सामाजिक रूपान्तरणसँग पनि सम्बन्धित छ । उनका अनुसार समाजमा रहेका विकृति, विसङ्गति, अन्याय, अत्याचार, भ्रष्टाचार जस्ता समस्याहरूलाई अनिकालको प्रतीक मानी, खेदेर टाढा लैजाने मनोवैज्ञानिक अभ्यासको रूपमा यो पर्वलाई हेर्न सकिन्छ । यसले समाजमा सकारात्मक सोच, मेलमिलाप र सुधारको भावना विकास गर्न मद्दत पुर्‍याउँछ ।

अन्त्यमा, सिसेक्पा तङनाम याक्थुङ संस्कृतिको समृद्ध परम्पराको प्रतीक हो  यसले केवल सांस्कृतिक पहिचान मात्र झल्काउँदैन, सामाजिक एकता, सद्भाव र रूपान्तरणको सन्देश पनि दिन्छ । यसलाई आधुनिक परिवेशमा जोगाउँदै, नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन आवश्यक छ ।

कुवाकुजा सेवारो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!