
लन्डन २ अगस्ट २०२५ । सन् २०२५ को जुलाई महिनामा बेलायतबाट ३ हजार ५४७ जना पर्यटक नेपाल गएका छन् ।
जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९.४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६.३ प्रतिशत) पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार उक्त महिना नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।
महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।
सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।






