नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१८ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकको मृत्यु भएको बताइएको हो।
भारतीय रेलसेवाले मंगलबार सो तथ्यांक सार्वजनिक गरेको हो। भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो। रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको थियो। यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको छ।
भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि मृत्यु भने नघटेको बताइएको छ। भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्।






