काठमाडौं । जेनजी अभियन्ता तथा व्यवसायी संजोग उप्रेतीले सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकप्रति प्रयोग गरेको भाषाशैलीप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उप्रेतीले प्रश्न गरेका छन्, ‘के सांसद पद गालीगलौजमा उत्रने लाइसेन्स हो ?’
सुनार अभियन्ता मात्रै नभई सांसदसमेत भएकाले उनीबाट थप मर्यादा, जिम्मेवारी र जवाफदेहिताको अपेक्षा हुने उप्रेतीको भनाइ छ। नेपाल प्रहरीजस्तो राज्यको महत्वपूर्ण सुरक्षा संगठनका प्रमुखमाथि गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्नु प्रश्न उठाउने अधिकारभन्दा बाहिरको विषय भएको उनले बताएका छन्।
प्रहरी नेतृत्वमाथि प्रश्न उठाउन पाइने भन्दै उप्रेतीले अनियमितता भए छानबिन र दोषी देखिए कारबाही हुनुपर्ने बताएका छन्। तर प्रमाणको ठाउँमा गाली र तर्कको ठाउँमा आक्रोश राखेर सिंगो संगठनलाई कमजोर बनाउने प्रयास स्वीकार्य हुन नसक्ने उनको टिप्पणी छ।
आफूलाई अभियन्ता र गरिबको प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने सांसदले आफ्नै जीवनशैलीबारे उठ्ने प्रश्नको पनि जवाफ दिनुपर्ने उप्रेतीले बताएका छन्। उनले सांसदले पाउने सेवा–सुविधा, सवारीसाधन, व्यक्तिगत सुरक्षाकर्मी तथा महँगा पहिरन र सामग्रीबारे समेत जनताले प्रश्न गर्न पाउने बताएका छन्।
‘अरूमाथि प्रश्न उठाउने अधिकार भए आफू पनि प्रश्नको कठघरामा उभिने साहस हुनुपर्छ,’ उप्रेतीले भनेका छन्।
सांसद हुनु प्रश्नभन्दा माथि हुनु नभएको र अभियन्ता हुनु आलोचनाभन्दा माथि हुनु नभएको उनको भनाइ छ।
नेपाल प्रहरीमा कमजोरी भए सुधार गर्नुपर्ने र गलत गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उप्रेतीले संस्था कमजोर बनाएर सुशासन बलियो हुन नसक्ने बताएका छन्।
‘संस्था कमजोर बनाएर सुशासन बलियो हुँदैन । गाली गरेर लोकतन्त्र बलियो हुँदैन । र, दोहोरो मापदण्डबाट जनताको विश्वास जितिँदैन,’ उनले भनेका छन्।






