एटा संवाददाता
लन्डन । बेलायतमा वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी सम्मेलन सम्पन्न भएको छ ।
बेलायत सरकारको आयोजनामा गत ११ र १२ अक्टोबरमा लन्डनमा सो सम्मेलन भएको हो । सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० बुँदे विश्व घोषणापत्र जारी गरेको छ ।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेर वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भाग लिएका थिए । वन्यजन्तु व्यापार सम्मेलनमा मन्त्री बस्नेतले वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर नजिक भएको उल्लेख गर्दै उनले नेपालको कूल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको सिकारमा पूर्ण प्रतिबन्ध लगाइएकोले सन् २०११ देखि २०१८ सम्ममा गैँडाको सिकार शुन्य रहेको जानकारी गराए । उनले नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको पनि बताए ।
नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिने नीति अवलम्बन गरेको छ भन्दै मन्त्री बस्नेतले यसबाट समुदायसमेत लाभान्वित भइरहेको विचार व्यक्त गरे । वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको बताए ।
सम्मेलन उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै संयुक्त अधिराज्य सरकारका विदेशमन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर भएको र विगत चार वर्षदेखि गैंडा र बाघको सिकार शून्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुशरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
सम्मेलनको अवधिमा वनमन्त्री बस्नेतसँग संयुक्त अधिराज्यका सांसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता सन्डिथ समरसिङ्गेले शिष्टाचार भेटगरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राख्दै यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको बताएको थिए । साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग युके ट्रस्ट फर नेचर कन्जरभेसन इन नेपालका अध्यक्ष एवं बेलायती सेनाका पूर्वप्रधानसेनापति सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गरी नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेका थिए । सोही दिन मन्त्री बस्नेतले लन्डनस्थित जेटएसएल जूको अवलोकन भ्रमण गरेका थिए ।
८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको विश्व सम्मेलनमा मन्त्री बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका मानबहादुर खड्का, राजदूतावासका काउन्सेलर शरदराज आरण र चितवन नेसनल पार्कका उपसचिव वेदकुमार ढकाल रहेका थिए ।
सोही अवसरमा बेलायत सरकारको वातावरण मन्त्रालयमा कार्यरत कवि तथा साहित्यकार विजय हितानले मन्त्री बस्नेतसँग १२ अक्टोबरका दिन नेपाली दूतावास लन्डनमा एक भेटवार्ता गरे । भेटवार्तामा हितानले आपूm १० वर्षसम्म वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव तथा कार्यकुशलता हासिल गरिसकेको र आफ्नो जन्मभूमि नेपाललाई यस क्षेत्रमा विज्ञताको आवश्यकता परे जहिले पनि सहयोग गर्न तयार रहेका बताएका थिए । मन्त्री बस्नेतले हितानजस्ता गैरआवासीय नेपाली विज्ञ नेपाललाई खाँचो परेको र नेपाल आएको बखत हितानसँग आपूmले भेटघाट गरेर अगाडि कसरी बढन सकिन्छ भनेर आफ्नो प्रतिबद्धता जनाएका थिए ।
हितानले वातावरण विज्ञान र पर्यावरण संरक्षणमा ग्रिनवीच युनिभर्सिटीबाट स्नातकोत्तर गरी वातावरण प्रबन्धन विभागमा एक वातावरण अधिकृतका रुपमा काम गर्दै आएका छन् । यसबाहेक उनी वातावरण साहित्यमार्फत जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, बन्यजन्तु अवैध व्यापार, प्लास्टिक प्रदूषण, वायु तथा नदीनाला प्रदूषणजस्ता विषयमा सन् २००८ देखि जनचेतना फैलाउने अभियान चलाउँदै आएका छन् ।






