
काठमाडौं ३ डिसेम्बर २०२५ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गरे ।
भेटमा गैरआवासीय नेपालीहरुले उठाउँदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसँग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्दाहरुलाई पौडेलसमक्ष ध्यानार्कषण गराएका थिए ।
अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भएपछिका जटिलताको बारेमा जानकारी दिँदै अध्यायदेशमार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गरे । अध्यक्ष महेशकुमार श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरी अब नेपालको समृद्धिको लागि केन्द्रित हुने जानकारी दिए । उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई मताधिकारको लागि सुनिश्चित गर्न आग्रह गरे ।
यसैगरी भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेल्नु भएको भूमिकाको प्रशंसा गरे । उनले गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको चर्चा गरे ।
गैरआवासीय नेपाली संघको एकतापछि पहिलो पटक गएको सो प्रतिनिधिमण्डलमा संघका पूर्वअध्यक्षहरु, वर्तमान तथा पूर्वपदाधिकारीहरु लगायतका अभियन्ताहरुको बाक्लो उपस्थिति थियो ।






