- गोपाल किराँती
शाही संकटकाल थोपरिएको साल २०५८ अन्तिम महिनातिर माओवादी नेतृ धर्मशिला चापागाइँ भूमिगत सेल्टर विराटनगरमा सुत्केरी हुनु भयो । त्यही दिन उहाँलाई गिरफ्तार गरेर सालनालसहितको छोरीसँग शाही सेनाले इटहरी ब्यारेकमा लगेर थुन्यो ।
त्यसपछि युनिफाईड कमाण्ड (शाही सेना, सशस्त्र बल र नेपाल प्रहरी सम्मिलित) टोलीले कमरेड धर्मशिलालाई मार्न भनी दिनैपिच्छे मोरङ केराबारी हुँदै सिंहदेवी जंगलतिर लिएर जाने गर्यो- आँखामा पट्टि बाँधिएको रक्तमुछेल आमा र नाइटो काटिन बाँकी केही अघि मात्र अस्तित्वमा आएकी बच्चीसँगै ।
प्रहरीका एक नायब नीरिक्षक (सई)ले केही न केही समस्या झिक्ने गरेछन् र हत्या नगरी आमा-छोरी धर्मशिलालाई ईटरी फर्काई रहे । ती सईले एक दिन (केही धार्मिक विश्वास भएका काठमाडौंबाट आएका) निरीक्षक श्रेष्ठलाई भनेछन्- साब, यी महिला त आतङ्कारी भइन्, तर भर्खरै जन्मेकी यिनकी छोरीको कसुर के ? आमालाई मार्दिएपछि सालनालसहितकी यी बच्चीको हालत के हुन्छ ? सैनिक अफिसरसँग तपाइँले सल्लाह गर्नोस्, बरु कारागार पठाऔं !आतङ्ककारी नै भए पनि यी आमा-छोरी हत्याको पाप नगरौं !
प्रहरी निरीक्षकले आँट गर्दा सैनिक अधिकृत सहमत हुन बाध्य भएछन् र छोरीसहित कमरेड धर्मशिलालाई कारागार चलान गरिएछ । परिणामस्वरुप आमा-छोरीको ज्यान बच्यो ।
परन्तु, खेदको कुरा हो कि कमरेड धर्मशिला कारागारमा बन्दी रहनु भएकै समय उहाँकी जीवनसाथी कमरेड शंकर घिमिरे शाही सेनाद्वारा मारिनु भयो । छोरीले बाबु कहिल्यै देख्न पाइनन् ।
* * *
जब हामी कोचिला राज्य पार्टी ईन्चार्जको जिम्मेवारीमा पुग्यौं, कमरेड धर्मशिला चापागाइँले उपरोक्त घटना विवरण बताउनुभयो । नभन्दै हामीले प्रदेश १ पार्टी ईन्चार्जको जिम्मेवारी सम्हालिरहेको बेला लेटाङस्थित पार्टी कार्यक्रममा पुग्दा ती मानवीयता रक्षक सई भेटिनु भयो । खुशीका साथ एक दिन कमरेड धर्मशिलासँग ती सईसाबको घरमा आभारसहित हामीहरु पुग्यौं ।
यस प्रसंगमा अरुलाई छोडौं, श्रम अभियान संचालन गरिरहेका हर्क साङ्पाङ् र जेड पुस्ता आन्दोलनकारीलाई उपरोक्त घटनाबारे ध्यान-हेक्का रहोस्, भन्नै परेको छ। अन्यथा जरा बिनाको बोटवृक्षको अर्थ नहुने प्रष्ट छ।
यो त एक प्रतिनिधि विवरण मात्र हो। नेपाली धर्तीमा महान् जनयुद्वका बलिदानीपूर्ण किर्तिमान असाधारण छन्। इतिहासप्रति नजरअन्दाज गर्नेहरु वस्तुतः जनद्रोही र देशद्रोही ठहर्ने छन् ।






