पोखरा १८ डिसेम्बर २०२५ । मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण सुरु भएको छ ।
स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डको सहयोग र नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । बुधबार पुस २ गतेदेखि नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको सभाहलमा प्रशिक्षण जारी छ ।
चलचित्र विकास बोर्डले यो वर्षलाई “चलचित्रकर्मी दक्षता वर्ष २०८२” घोषणा गरेको छ । यसै कार्यक्रमअन्तर्गत स्थानीय चलचित्रकर्मीहरूको दक्षता बृद्वीको उद्येश्यले यो कार्क्रम आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन समारोह गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
समारोहलाई सम्बोधन गर्दै उपसभामुख थापा मगरले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सामाजिक परिवेश, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई चलचित्र क्षेत्रप्रति थप जिम्मेवार र प्रतिबद्ध भई तालिम लिन आग्रह गरे ।
कार्यक्रमका विशेष अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको सहजीकरणमा कार्यक्रम सञ्चालनका लागि स्थानीयस्तरमै व्यापक तयारी गरिएको जानकारी दिए । साथै, उनले गण्डकी प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका चलचित्रकर्मीलाई थप अवसर प्रदान गर्ने धारणा व्यक्त गरे ।
मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ चलचित्रका पहिलो निर्देशक युवराज मास्की राना मगरले मगर चलचित्रको इतिहासमाथि प्रकाश पारे। संस्थापक महासचिव मेजन पुन मगरले मगर चलचित्रको विगत र वर्तमान अवस्थाबारे जानकारी गराए ।
संघका निवर्तमान अध्यक्ष भीम राना मगरले फोटो तथा भिडियोमार्फत आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै तालिमलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।
गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले विगतमा चलचित्र विकास बोर्डमा आदिवासी समुदायका चलचित्रहरू निःशुल्क दर्ता गरिनुपर्ने विषय उठाइएको स्मरण गराए ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिको सांस्कृतिक विभागका सह–संयोजक हर्क आले मगरले पनि मन्तव्य राखे ।
कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष एमबी आस्था, मगर लेखक संघका भाषिक उपाध्यक्ष रुद्र श्रीस मगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर, आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष पिठाकोटे मगर, नेपाल पुन मगर समाज तल्लो गगनगौडाका अध्यक्षलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास आले मगरले गरेका थिए । स्वागत मन्तव्य केन्द्रीय सदस्य भुपेन्द्र रिखाम मगरले राखेका थिए भने कार्यक्रमको औचित्यबारे उपाध्यक्ष देव चोचाङी मगरले जानकारी गराए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जानु मगरले गरेकी थिइन् ।
उक्त तालिमको सहजीकरण उपाध्यक्ष देव चोचाङी मगरले गरिरहेकी छन् ।
चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रम आदिवासी जनजाति तथा मातृभाषी चलचित्रको प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। बोर्डले लामो समयदेखि आदिवासी जनजाति समुदायका चलचित्रकर्मी, भाषा र संस्कृतिमा आधारित चलचित्रलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।
गत वर्ष चलचित्र विकास बोर्डले सहकार्य र सहयोगमा १४ वटा जातीय चलचित्र संगठनहरूले तालिम, कार्यशाला तथा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए, जसबाट स्थानीय स्तरमै चलचित्र निर्माण, प्रविधि र सिप विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
यसै सन्दर्भमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चालु वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरिएको स्मरण गर्दै स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा बोर्डले प्राथमिकताका साथ सहयोग तथा सहकार्य गर्दै आएको र चलचित्र उद्योगलाई दीगो, समावेशी र प्रतिस्पर्धी बनाउन स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि अपरिहार्य छ। आदिवासी जनजाति तथा मातृभाषी चलचित्रहरू नेपाली चलचित्र उद्योगका बलिया आधार भएकाले यस्ता तालिम तथा कार्यक्रमलाई चलचित्र विकास बोर्डले निरन्तर सहयोग गर्ने बताएका छन् ।






