
मोहन गोले तामाङ
पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन मात्रै लाग्छ । परिक्रमा गर्ने क्रममा यी दुवै ग्रह (पृथ्वी र चन्द्रमा) आफैं पनि घुम्दै परिक्रमा गर्ने हुँदा पृथ्वीमा दिन र रात हुन्छ । आ–आफ्नै मार्गबाट घुमिरहने क्रममा बर्षमा एकपटक सुर्य, पृथ्वी र चन्द्रमामा त्रिकोणात्मक छायाँ पर्न जान्छ । त्यतिबेला पृथ्वीबाट सुर्य र चन्द्रमाको केही भाग देखिँदैन । जसलाई हामी धार्मिक मान्यता अनुसार ग्रहण लागेको भन्छौ ।
सुर्य र चन्द्रमाको यहीँ गति र प्रभावको आधारमा ल्हो (बर्ष), ला (महिना) र दिनहरू निर्धारण गरिन्छ । सुर्यको गतिको आधारमा बन्ने पात्रोलाई सौर्यपात्रो ९क्यबिच ऋबभिलमभच० र चन्द्रमाको गति र प्रभावको आधारमा बन्ने पात्रोलाई चन्द्रपात्रो ९ीगलबच ऋबभिलमभच० भनिन्छ । हामीसँग प्रचलनमा रहेको विक्रम सम्वत्को क्यालेण्डर सौर्य सिद्धान्तअनुसार बन्दछ भने मञ्जुश्री सम्वत्को क्यालेण्डर चन्द्र सिद्धान्तअनुसार बन्दछ । चन्द्रपात्रोअनुसार ३५४ दिनको एक बर्ष हुने हुँदा यसमा २९ देखि ३० दिनको एक महिना हुन्छ । चन्द्रपात्रोमा साढे २३ घण्टाको एकदिन र साढे २९ दिनलाई एक महिना मानिन्छ । त्यसैगरी सौर्यपात्रो अनुसार ३६५ दिनको एक बर्ष हुने हुँदा कम्तिमा २९ दिन र बढीमा ३२ दिनसम्मको एक महिना बनाइएको हुन्छ । यसमा २४ घण्टाको एकदिन र साढे ३० दिनलाई एकमहिना मानिन्छ । यसरी साढे ३० दिन र साढे २९ दिनको महिना मान्ने भिन्न परम्परा हुँदा महिना दिनमा नै यी दुई पात्रोको बीचमा एकदिनको फरक पर्न जान्छ । यसरी १२ महिनामा सौर्यपात्रो र चन्द्रपात्रोमा ११ देखि १२ दिनको फरक पर्छ । तर फरक फरक सिद्धान्तअनुसार पात्रो बनेपनि यो नियम एकअर्कोसँग अन्तरसम्बन्धित हुँदा यसलाई अनिवार्य मिलान गर्नुपर्छ ।
सौर्य बर्षभन्दा चन्द्र बर्षमा प्रत्येक बर्ष ११ दिनको कमी हुँदा यसलाई अरु पात्रोसँग संयोजन गर्न साढे ३१ महिनामा एउटा मलमास (अतिरिक्त महिना) थप्नैपर्छ । किनकि साढे ३१ महिनामा सौर्यपात्रोको दिनभन्दा चन्द्रपात्रोको दिन ३० दिन कम भइसकेको हुन्छ । यसकारण चन्द्रपात्रोमा प्रत्येक तेस्रो बर्षमा मलमास पर्न जान्छ । यदि यो समयभित्र चन्द्रपात्रोमा अतिरिक्त महिना थप गरिएन भने बर्षेनी ११ दिन थपिदै जाँदा झन् गञ्जागोल पर्नजान्छ । त्यसकारण चन्द्रपात्रो अनुसार मञ्जुश्री सम्वत् २८६१ डुल ल्होको छैठौ महिना ब्येल्बो (असार) मा अतिरिक्त महिना (मलमास) ३० दिन थपिएर ३८४ दिनको एक बर्ष हुन पुग्दा यस वर्षको सोनाम ल्होछार–२८६२ ता ल्हो÷घोडा वर्षको पहिलो दिन ख्रेला छेपागी तिथि बिक्रम सम्वत्मा तोकिएको तिथिभन्दा एक महिना पछाडि अर्थात् २०८२ फागुन ५ गते पर्न गएको छ । फेरि यस्तो तिथि तलमाथि पर्ने चन्द्रपात्रोमा मात्रै होइन, सौर्य पात्रोमा पनि देखिन्छ । जस्तो, कहिलेकाँही दशैंको महत्वपूर्ण तिथि अष्टमी, नवमी नै हराउन पुग्छ । असोजमा पर्ने दशैं कात्तिकमा पर्छ । तर कुनै हिन्दूले हाम्रो तिथि हरायो भन्दैनन् । किनकि उनीहरू आफ्नो सिस्टमको बारेमा जानकार हुन्छन् । हिन्दू समुदाय मात्रै होइन, यो सवालमा शेर्पा समुदाय समेत सचेत छन् । जस्तो, कहिलेकाँही शेर्पा जातिले मान्ने ग्याल्बो ल्होसार पर्वको तिथि पनि सौर्यपात्रोले निर्धारण गरेको भन्दा एक महिनाअघि र पछि पर्न जान्छ । तर विक्रम सम्वत्को क्यालेण्डरमा जेसुकै लेखिए पनि शेर्पा समुदायले आफ्नै चन्द्रपात्रोको तिथिमा ग्याल्पो लोसार मनाउने गर्दछन् ।
हामी हाम्रो ल्हो परम्परा भेटिने चन्द्रपात्रोको नियमभन्दा राज्यले मान्यता दिएको सौर्यपात्रोको नियम, सैद्धान्तिक आधारको बारेमा बढी जानकारी राख्ने हुँदा पनि थप भ्रमित हुन पुगेका हौ । चन्द्रमासको प्रतिपदा सम्बन्धमा ग्रिगोरियन पात्रोले फेब्रुअरी ४–५ लाई मध्यबिन्दू मान्दछ । यसअनुसार जनवरी २१ देखि फेब्रुअरी २० भित्र मात्रै चन्द्रमास माघ (ख्रेला छेपागी) को प्रतिपदा पर्दछ । अर्थात हजारौ बर्षसम्म पनि जनवरी २१ भन्दा तल र फेब्रुअरी २० देखि माथिको दिनमा माघ शुक्लपक्षको प्रतिपदा पर्दैन । यो नै तामाङ समुदायले मान्ने तत्व ज्योतिषमा आधारित सोनाम लोथो (कृषि पात्रो) को सैद्धान्तिक परम्परा हो । त्यसैले यस सन्दर्भमा हामी निम्न आग्रह गर्दछौ–
१. सौर्यपात्रोअनुसार नेपाल सरकारले सोनाम ल्होछारको सार्वजनिक विदा दिएको दिन वि.सं. २०८२ माघ ५ गते र सो आसपासको मितिदेखि ल्होछारसम्बन्धी शुभकामना आदानप्रदान, सार्वजनिक समारोह, महोत्सव, भेला, पिकनिक जस्ता कार्यक्रमको आयोजना गर्न सकिने ।
२.चन्द्रपात्रोअनुसार ल्हो फिर्ने दिन वि.सं. २०८२ फागुन ५ गते परेको हुँदा घरमा गरिने (लुङ्दर, दज्र्यु, पूजापाठ, ग्रहशान्ति, टीका, भेटघाट, खानपीन आदि) लगायतका सम्पूर्ण कार्यहरू आधिकारिक चन्द्रपात्रोको तिथिमा गर्ने ।
३.ल्हो फिर्ने अघिल्लो साँझ आयोजना गर्ने ल्होछार इभ (नयाँ ल्होको स्वागत र पुरानो ल्होको विदाई) को कार्यक्रम चन्द्रपात्रोअनुसारको ल्हो फिर्ने तिथिमा आयोजना गर्ने ।
४.तामाङ समुदायमा यसबाट पर्न गएको भ्रम चिर्नका लागि प्रष्ट पार्दै जाने र नेपाल सरकारलाई समेत भ्रम निराकरणका लागि अनुरोध गर्ने ।
५.यस वर्षका लागि ल्होछारको नाराः ह्याङ्ला ग्योअी थेन रिमठिम ह्याङ्सेन तेन्बा । सोनाम ल्होछार–२८६२ ता ल्होला ज्याबाडान्वा ।। तय गरिएको हुँदा कार्यक्रमको हरेक व्यानरमाथि नारा अनिवार्य लेख्ने ।






