मगर संघ यूके यूएसएसबी शाखाको निमन्त्रणामा बेलायत आइन् गायिका निरा थापा

SHARE:

लन्डन ८ जनवरी २०२६ । मगर संघ यूके यूएसएसबी शाखाको निमन्त्रणामा लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायत आएकी छन्

यही १० जनवरीमा हुने मगरहरुको ठूलो चाड माघे संक्रान्ति कार्यक्रमका लागि बुधबार ७ तारिख बेलुकी निरा लन्डन उत्रिएकी हुन् । निराको स्वागतका लागि केशवटार समाज यूकेका अध्यक्ष रुकबहादुर आले, मगर संघ यूकेकी पूर्वउपाध्यक्ष एवं वर्तमान सल्लाहकार अनिता राना मगर, मगर संघ यूके स्वीन्डन शाखाका पूर्वअध्यक्ष एवं मगर संघ यूकेका वर्तमान सल्लाहकार कुमार राना मगर, संगीतकर्मी दिपक मइथाने, ऋषि राना, केशर रानालगायत एयरपोर्ट पुगेका थिए ।

गायिका निराले आफूलाई एयरपोर्टमा स्वागत गर्न आएका र मगर संघ यूके युएचएसबी शाखाका अध्यक्ष बिर बलाललगायत सम्पूर्ण कार्यसमितिहरुलाई धन्यवाद दिइन् । साथै उनले मगर संघ यूके युएचएसबी शाखाको १० जनवरीमा हुने माघे संक्रान्ति विशेष कार्यक्रममा सहभागिताका लागि यूकेका विभिन्न सहरमा बस्ने नेपालीहरुलाई निमन्त्रणा दिइन् ।

विविध सांस्कृतिक कार्यक्रमसहित संक्रान्ति मनाउने लागिएको शाखा अध्यक्ष बिर बलालले जानकारी दिए । कार्यक्रम बेलायतको फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुनेछ । समय बिहान ११ बजेदेखि तोकिएको छ । जसअन्तर्गत ११ देखि १ बजेसम्म पितृपूजा, १ देखि राति १० बजेसम्म मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम, राफल ड्र लगायत हुने अध्यक्ष बलालले जानकारी दिएका छन् ।

यस वर्षको कार्यक्रम संयोजकमा उपाध्यक्ष गणेश बुढाथोकी रहेका छन् । कार्यक्रममा प्रवेशका लागि वयस्क २० पाउन्ड र ज्येष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्रै तोकिए सचिव धन थापाले जानकारी दिए । कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको मगर संघ यूके यूएसएसबी शाखा कोषाध्यक्ष गोप बहादुर सिञ्जालीले जानकारी दिए ।

को हुन् गायिका निरा थापा मगर
तनहुँको घिरिङ गाउँपालिका-३ डाँडाथोकमा जन्मिएकी निरा सानैदेखि लोकदोहोरी गाउन र मोडलिङ गर्न रुचाउँथिन् । सानैदेखि गीत गाउने, नाच्ने चाहना र कर्मका कारण उनी अहिले लोकदोहोरी गायिका तथा मोडलका रुपमा चिनिएकी छन् ।

बाबा यमबहादुर थापा र आमा केशरीमाया थापाका कान्छी सन्तान हुन् निरा । उनको परिवारमा बाबा, आमा, ४ जना दाजुभाइ र एक दिदी छन् । सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मिएकी उनले कक्षा ९ सम्म अध्ययन गरिन् । पारिवारिक कारण र संगीतप्रतिको झुकावका कारण त्यसपछि आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् ।

उनले औपचारिक रुपमा लोकदोहोरी गीत गाउन सुरु गरेको वि.स. २०७४ सालबाट हो । गीतसंगीतको क्षेत्रमा हेलिएको केही वर्षमात्रै भए पनि उनले आफूलाई यस क्षेत्रमा स्थापित गराउने चरणमा पुगेकी छन् । क्यासेट, सिडीको जमाना हट्दै गएपछि लोकदोहोरीको संरक्षण र विकास अनि रोजगारी सिर्जनाका लागि खोलिएको दोहोरी साँझहरुबाट उनले आफूलाई तिखार्न मौका पाएकी छन् ।

उनले आफ्नो गायन यात्रालाई अगाडि लैजाने वातावरणमा भिनाजु र भाउजुहरुको देन रहेको सुनाइन् । ‘मलाई सानैदेखि गीत गाउन असाध्यै मन पर्थ्यो । घाँसदाउरा गर्न जाँदा, एक्लै हिँड्दा गुनगुनाउने गर्थे । मैले गीत गाउँछ भन्ने कुरा कसैलाई थाहा थिएन । त्यही भएर पनि गाउँमा रहँदा खासै गीत गाउने अवसर पाइन’ उनले भनिन् ‘२०७३ सालतिर भिमाद झरें । भाउजुकोमा बस्न थालें । त्यहाँ मेरो ठूलो दिदी, भेना, भाउजु, माइजुहरु हुनुहुन्थ्यो । त्यहाँ बस्ने क्रममा रमाइलोमा जाँदा गीत गाउने गर्थें । त्यसपछि मेरो ठूलो भेना अनि ठूली भाउजुहरुले मैले गीत गाउँछ भन्ने थाहा पाउनुभयो । सधैं घरमै गीत गाउन लगाउनुहुन्थ्यो । सबैले राम्रो स्वर छ भन्नुहुन्थ्यो ।’ त्यो बेला जब उनले ८/९ महिनापछि तनहुँको खैरेनीटार महोत्सवमा गीत प्रतियोगिता छ भन्ने थाहा पाइन् । उनले त्यहाँ जान मन गरिन् र उनको भिनाजुले लगिदिए । त्यहाँ गएपछि मात्रै त्यो लोकगीतको नभई आधुनिक गीतको प्रतियोगिता रहेछ भन्ने थाहा पाइन् उनले ।

आफूले लोकगीत गाउने भनेर गएकोमा त्यस्तो भएपछि हिम्मत राखी प्रतियोगितामा सहभागी भइन् । राम्रो नभए पनि अनुभव संगाल्न पाएकोमा र साथीभाइसँग चिनजान भएकोमा उनी खुसी भएको उनले सुनाइन् । उनले भनिन् ‘प्रतियोगितामा सहभागी हुँदा पोखराबाट आएका साथीहरु चिनें । त्यसपछि केही महिनापछि पोखरा आएँ । मेरो आफ्नै दाइसँग बसेर काम गर्न थालें । कामसँगै संगीत कक्ष पनि लिन थालें । जोजिजू म्युजिक सेन्टरमा पोखरा रानीपौवामा गुरु करण तामाङसँग संगीत सिक्न थालेँ ।

२/३ महिनापछि इमेज लोक कलाकार सिजन-२ हुने गुरुले भन्नुभयो । म पनि भाग लिन गएँ । छनौट पनि भएँ । टप २० सम्म पुग्न सफल भएँ ।’त्यसलगत्तै पोखरा आएर दोहोरीमा गीत गाउन थालेको उनी बताउँछिन् । गीत गाउने मात्र नभएर अहिले उनी मोडलिङ पनि गर्छिन् । अभिनय मन पर्ने भएकाले गीत गाउने र अभिनयमा पनि क्रियाशील छिन् । उनले यसै क्षेत्रमा अघि बढ्ने र भविष्य बनाउने चाहना रहेको बताउँछिन् । उनले भनिन्, ‘यसैमा अघि बढ्ने मनदेखि इच्छा छ । तर, गाह्रो पनि छ जस्तो लाग्छ । सिक्न धेरै बाँकी छ । तर पनि मिहिनेत गरिरहन्छु । राम्रो गर्ने प्रयास निरन्तर गरिरहने छु ।’

निराले ‘तमासा’ बोलको गीतमा स्वर दिएकी छिन् । उनले ‘आँसुको उपहार’ गीतमा अभिनय पनि गरिसकेकी छिन् । उनले सालैजो, कौडा, ठाडो भाकालगायतमा पनि स्वर दिइसकेकी छन् । पछिल्लो समय उनी लाइभ दोहोरीमा जम्न थालेकी छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!