काठमाडौं । आन्तरिक विवादमा चुर्लुम्म डुबेको कांग्रेस निर्वाचनमा लज्जाजनक पराजयपछि पनि चेत्न सकेको छैन । नेतृत्वको उछितो काढ्ने, नेतृत्वले मनपरी गर्ने लगायतका गतिविधिले कांग्रेसमा पुनः विवाद झाँगिदै गएको छ । विगतको तुलनामा यसपटक विवादले अर्को रुप लिएको छ । नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेपछि फेरि पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ । यो आलोचनासँगै महासमिति बैठक पनि तत्काल बस्न सक्ने स्थितिमा पुगेको छैन । लगातारको विवादले महासमिति बैठक सर्दासर्दै मंसिरको अन्तिम साता पुगेको छ ।
गच्छदार उपसभापति
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उनलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
आफ्नो पार्टी भंग गरेर कांग्रेस प्रवेश गरेका गच्छदारलाई सभापति देउवाले दिएको आश्वासनअनुसार राम्रो पोजिसनमा राख्नकै लागि गच्छदारलाई जबर्जस्ती उपसभापति बनाएको आरोप रामचन्द्र पौडेल लगायत नेताको आरोप छ । यो आरोपसँगै कांग्रेसबीच देखिएको विवादले पार्टीलाई थप धरासायी बनाएको कांगेस बृत्तमा चर्चा छ । नेताहरुले सही ढंगले काम गर्न नदिएको, पार्टी नेतृत्वलाई कमजोर पार्नका लागि पार्टी संगठनकै नेताहरु लागेको आरोप लागिरहेका बेला पौडेल लगायतका नेताहरुले गच्छदारलाई उपसभापति बनाउने निर्णयको विरोध गरे । सभापति देउवासँग भारी बहुमत रहेकाले केन्द्रीय समितिमा भने पौडेल लगायत अन्य गुटको केही लाग्ने स्थिति छैन ।
कांग्रेसको बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ ।
सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।
महासमिति बैठक मङ्सिर अन्तिम साता
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको पार्टीको महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।
दीपा वली, नेपाल संवत्, छठलगायत चाडपर्व प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यावहारिक नहुने भन्दै महासमिति बैठकको मिति सारिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।बैठकले काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने केन्द्रीय लेखापरीक्षण समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारी गरिएको कुराप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने÷गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्ब रोक्न बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
बैठकले सर्लाहीको रामनगर गाउँपालिका–४ का काङ्ग्रेस कार्यकर्ता रामविलास महतोलाई गोली हानी हत्या गरेको घटनामा संलग्नलाई तत्काल कानूनी कारवाही गर्न माग गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सो
घटनाका मृतकलाई शहीद घोषणा गरी घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।
बैठकले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेको छ ।
काङ्ग्रेसले मानव अधिकारवादी तथा पूर्वस्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले डोल्पामा सोमबार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले सो घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
काङ्ग्रेसभित्रको झगडाले चुनावमा हारियो : देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताए ।
दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनँले सो कुरा बताएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।”
काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनँले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।
सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । सभापति देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएको हो ।
नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनँले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै नेपाली काङ्ग्रेसको मार्गदर्शक नीति हो भने । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको स्मरण गरे । काङ्ग्रेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए । नेता पौडेलले सुवर्ण शमशेर त्यागी, दानी र कार्यकर्तालाई स्नेह गर्ने नेता थिए भने । सोही कार्यक्रममा काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो, त्यसलाई व्यवस्थापन गर्ने दायित्व नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिए । उनले सुवर्ण शमशेर राजनीतिका कुशल सञ्चालक र अर्थतन्त्रका सफल व्यवस्थापक थिए भने । सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गरे । काङ्ग्रेसका नेताहरुले आफ्नो कार्यशैली बदल्न र एकता कायम गर्न आग्रह गर्दै उनले पार्टीको अहिलेको अवस्थाका लागि नेतृत्वले जिम्मा लिनुपर्छ भने ।