विजय गच्छदारलाई उपसभापतिमा मनोनयन गरिएपछि नेपाली कांग्रेसमा विवाद चर्किएको छ । पार्टी सभापतिले विधान मिची गच्छदारलाई उपसभापति बनाएको भन्दै विशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको हो । तर, सभापति देउवाले विधानअनुसार नै आफूले बहुमतबाट उपसभापति मनोनीत गरेका दाबी गर्दै आएका छन् । यस्तै आन्तरिक कलहमा रुमलिएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा समेत चुकेको आलोचना खेपिरहेको छ । डामाडोल अवस्थामा पुग्दै गरेको कांग्रेसका युवा नेताहरु पनि सभापति देउवा नै पार्टी बिगार्नुका प्रमुख पात्र बनेको आरोप लगाउँछन् । पार्टीभित्रको विवादको सत्यतथ्य र त्यसको निराकरणको उपायबारे कांग्रेसका नेता जगदीशश्वर नरसिंह केसीसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी ।

सरकारको गतिविधिको ख्याल गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहमा रुमल्निएको छ, किन यस्तो परिस्थिति बन्यो ?
नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । ८/९ महिनाको अन्तरालमा सरकारले दर्जनौं कमीकमजोरी गरेका छन् । कमीकमजोरी, गल्तीलाई संसदभित्र र बाहिरबाट जनताको बीचमा सार्वजनिक गर्नुभन्दा बढी आन्तरिक कलह कांग्रेसभित्र चर्किँदै गएको स्वाभाविकै हो । हामीले चाहेको पार्टीको आन्तरिक कुरा थाँती राखेर सहमति, सहकार्य, एकताका साथ पार्टी अगाडि बढोस् । किनभने गएको निर्वाचनपछि नेपाली इतिहासमा कांग्रेस अत्यन्त कमजोर अवस्थामा देख्या परेको छ । यो कमजोरीलाई अबको पाँच वर्षभित्र फेरि रिभाइब गरेर कांग्रेसलाई हिजोकै अवस्थामा पुर्याउनुपर्ने दायित्व, जिम्मेवारी नेतृत्वको हो । तर, नेतृत्वमा ती जिम्मेवारीलाई भन्दा पनि पार्टीलाई आफ्नो कब्जामा लिने नियत देखिन्छ सभापतिलगायत केही नेतामा ।
पार्टी सभापति बन्ने वा भोलि पनि नेतृत्वमा जाने कुरा ठूलो होइन, कांग्रेसलाई हिजोकै जस्तो परिस्थितिमा पुर्याउने कसरी सकिन्छ भन्ने अत्यन्त गम्भीर, महत्वपूर्ण विषय हो ।
शेरबहादुर देउवालाई सभापति बनाउन मैले पनि मत हालेको हुँ । उहाँसँग धेरै आशा र विश्वास थियो मलाई । किनभने देउवा सभापति बन्नुभयो भने यो पार्टीलाई अझ नयाँ ढंगबाट, नयाँ उर्जाका साथ अगाडि बढाउन सक्नु होला भन्ने आशा थियो । त्यो आशा लगभग साढे, २, ३ वर्षको बीचमा निराशामा परिणत भएको छ । उहाँले गलत क्रियाकलाप, कमीकमजोरी, अझ असीमित गल्तीहरु गर्दै जानु भो ।
पार्टीले मलाई पढाएको पाठ, कांग्रेस विधिमा विश्वास गर्ने, कानुनी राज्य र लोकतन्त्र प्राप्तिका लागि लडेको । मुलुकमा विधिको शासन रहनुपर्यो, कानुनी राज्यको स्थापना हुनुपर्यो, लोकतन्त्रको स्थापना हुनुपर्यो, सार्वभौम सम्पन्न नागरिक बन्नु पर्यो । त्यो आशा र भरोषाका साथ म कांग्रेस भएँ ।
कांग्रेसजस्तो कम्युनिस्टहरु कहिल्यै लोकतन्त्रवादी होइनन्, उनीहरुले कहिल्यै कानुनी राज्यको कल्पना गरेको छैन । विधिको शासनको कल्पना उनीहरुले गर्दैनन् भनेपछि कम्युनिस्टले जे गर्छ हामी त्यही गर्नुपर्छ भन्ने होइन । त्यस्तै गर्ने हो भने हामी त्यही बाटोमा गए भइहाल्यो नि ! विधि, कानुनका लागि लडेको पार्टी अहिले आफ्नै विधानलाई मिच्दै फड्को मारेको परिस्थिति देखियो ।
पार्टी सभापतिलाई मेरो आग्रह छ, ‘पार्टीको विधानलाई अक्षरश पालना गर्नुस्, अघि बढ्नुस् ।’ अहिले कांग्रेसभित्र देखिएको विवाद विधान मिचिँदाको हो ।
एकताताकै यो विषय नटुंग्याउँदा अहिले विवाद बढेको भन्न खोज्नुभएको हो ?
त्यतिबेला नै यो समस्या समाधान भएको भए राम्रो हुन्थ्यो । त्यो बेला कसैले पनि बोल्ने अवस्था थिएन । विधानले नै अर्को कुनै पार्टी नै विलय भएको छ भने त्यही हैसियतमा जिम्मेवारी दिने भन्ने बोलेको थियो, दिन सकिन्थ्यो ।
हिजो नै टुंग्याउनमा के समस्या थियो र ?
विजय गच्छदारलाई पार्टीमा ल्याउने तर नेतृत्वमा ल्याउने कि नल्याउनेमा सभापति आफैं द्विविधामा हुनुहुन्थ्यो । त्यो बेला टुंग्याउन चाहनुभएन । अहिले उहाँले विजय गच्छदारलाई पार्टीभित्रको छलफल, बहस, सबैसँगको सहमतिमा उपसभापतिमा प्रस्तावित गरेको भए राम्रो हुन्थ्यो । कांग्रेसको विधानमा बाधा अड्काउ फुकाउ एउटा दफा छ पनि छ । पहिलो पटकको केन्द्रीय समिति बैठकले बुँदा नं. १ मा एउटा निर्णय के गर्न सक्थ्यो भने, ‘अन्य राजनीतिक दलबाट विलय भएर आएका अर्को पार्टीका अध्यक्ष कांग्रेसमा प्रवेशपछि उपसभापति पद थप गर्ने, त्यो मनोनयनबाट गर्ने । अथवा केन्द्रीय समितिले नै टुंगो लगाउने’ । त्यसपछि दोस्रो बैठकले नेपाली कांग्रेसको रिक्त उपसभापतिमा अन्य राजनीतिक दलबाट आएका अध्यक्षको हैसियतले कांग्रेसमा विलय भएका विजय गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने भनेर केन्द्रीय समितिबाटै सर्वसम्मत र विवादरहित ढंगले गर्न सकिन्थ्यो । त्यसरी समस्या हल हुन्थ्यो । अहिले कांग्रेसभित्र देखिएको विवाद नै विधिसम्म्त भएन भन्नेमा हो ।
त्यही निर्णय अहिले बहुमतले गर्दा त के फरक पर्यो र ?
दुई पार्टी मर्ज हुनेवित्तिकै जिम्मेवारी दिइएको भए अर्को पार्टीका अध्यक्ष विजय गच्छदारले उपसभापतिनै पाउनुहुन्थ्यो । किनकि ठूलो पार्टी कांग्रेसमा विलय भएर आउन जुनसुकै पार्टीका अध्यक्षले उपसभापति पाउने कुरा विधानमै छ । तर, गच्छदारलाई त्यही बेला जिम्मेवारी दिइएन । त्यो बेला एकीकरण मात्र भयो । अहिले एक वर्ष बितिसिकेको छ । विधानअनुसार कांग्रेसमा उपसभापतिको व्यवस्था एक जना मात्र छ । गच्छदार कांग्रेसको साधारण सदस्य पनि नभएको अवस्था । उपसभापति हुन महासमिति सदस्य हुनै पर्यो । महासमिति सदस्य हुन केन्द्रीय समितिबाट निर्वाचित सदस्य हुनुपथ्र्यो । अनि केन्द्रीय समितिबाट रिक्त रहेको पद मनोनीत गर्ने हो । त्यो सबै कुरालाई पन्छाएर एकैचोटी उपसभापति बनाउने भन्ने भयो । भोलि सभापतिले बहुमतका आधारमा १५ जना उपसभापति बनाइदिनुभयो भने पार्टी त उपसभापतिमय हुनेभयो । महामन्त्री अर्को ५ जना थपिदिनुहोला, सहमहामन्त्री अर्को ५ जना थपिदिनु होला । पार्टी केन्द्रीय सदस्य ५० जना थपिदिनु भयो भने के गर्ने त ?
तर, सभापति देउवाले विधानअनुसार नै निर्णय गरेको हुँ भन्दै हुनुहुन्छ त ?
दुई दलको बीचमा विलय भएको अवस्था एउटा हो । तर, अहिलेको परिस्थिति एक वर्षपछि केन्द्रीय समितिमा बहुमतको आधारमा एकैचोटी उपसभापति बनाउने ? उपसभापति बनाउने पदै छैन त ? गच्छेदार उपसभापति त बन्नुभयो तर कांग्रेसको विधानमा दुई उपसभापति कहाँ छ ? कांग्रेस सभापतिले बहुमतका आधारमा उपसभापति जति जना पनि बनाउने हो भने हामीजस्ता ७७ जिल्लाका सभापतिले उपसभापति पाँच, पाँच जना किन नबनाउने ? जिल्ला कार्यसमितिमा ५० जना किन नथप्ने ? मसँग पनि अन्य पार्टीबाट आएका दुई, तीन दर्जन छन् । हामी जिल्ला सभापतिहरुले एकैदिन कार्यसमिति थपिदिउँ । विधान कसैलाई पनि चाहिएन । पार्टीको केन्द्रीय सभापतिलाई विधान नचाहिएपछि हामीलाई किन चाहियो ? हामी पनि जिल्ला कार्यसमितिको सदस्य पनि थपिदिन्छौं, उपसभापति पनि थपदिन्छौं । ल जाऔं । भोलि हामीलाई कारबाही हुँदा उहाँ (सभापति)लाई चाहिँ कारबाही हुने कि नहुने ? विजय गच्छदारलाई उपसभापति बनाउने कुरामा कसैको विवाद थिएन । यसलाई सभापति, वरिष्ठ नेता, सभापतिका उम्मेदवार, पदाधिकारी, केही वरिष्ठ नेताहरु बसेर के गर्ने त ? उहाँको समस्या समाधान गर्नुपर्छ । उहाँलाई उपसभापति बनाउनुपर्छ भन्ने छलफल भएको भए कसैले असहमति जनाउँदैनथ्यो । गच्छदार उपसभापति हुनुपर्ने त हो । तर, विधिसम्मत् भएन । विधि मिचेर सभापतिले मनोमानी गर्ने हो भने कांग्रेस अराजकताको बाटोमा जाने भो ।
भनेपछि देउवाको हातमा नेतृत्व गए कांग्रेस सिद्धिन्छ भन्ने भनाइ पुष्टि हुन लागेको हो ?
मैले सुशील कोइरालालाई भेट्दा भन्नुहुन्थ्यो, ‘शेरबहादुरको हातमा पार्टी गयो भने सिद्धिन्छ । तिमीहरु लेखेर राख भन्नुहुन्थ्यो ।’ मलाई त्यो बेला पत्यार लाग्दैनथ्यो । किनभने कोइरालाहरु भनेका एउटा शासकै हुन् । एउटा जनताका छोरो कांग्रेस सभापति हुँदाखेरी राम्रै होला । देउवाले पार्टी सिध्याउँछन् भन्ने कोइरालाहरुले बनाएको शब्दजाल भन्ठान्थे ।
गिरिजाबाबुले पनि भन्नुहुन्थ्यो, ‘शेरबहादुरको हातमा पार्टी गयो भने सकिन्छ । तिमीहरुले बुझेकै छैनौं ।’ त्यो बेला पनि त्यस्तै लाग्थ्यो । अब अहिले आफूले भोग्न थालिसकेँ । पार्टी सक्ने अवस्थामा पुगिसक्यो ।
कांग्रेस विलयमै जान थालेको हो त ?
यही गतिमा कांग्रेस सभापति जान थाल्ने हो भने त्यस्तै हुन्छ । स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन भयो । यसमा कांग्रेस पराजित भयो । यस हिसाबले कांग्रेस इतिहासकै कमजोर भयो । हिजो जे जस्तो गल्ती, कमजोरी भए । अब मिलेर पार्टी एकढिक्का पारेर अगाडि जाऔं भन्ने सन्देशै दिन सक्नुभएन । एकलौटी ढंगले भोलि पनि आफू सभापति बन्ने विकल्पभन्दा कांग्रेस सुधार्नेतिर सभापति लाग्नुभएन ।
देउवा पार्टीलाई मिलाएर लानुभन्दा आउँदो महाधिवेशनमा पनि सभापति बन्ने स्वार्थमा लागे भन्न खोज्नुभएको हो ?
नेपाली कांग्रेस कुनै दिन दुइटा भएको थियो । एउटा संस्थापन र प्रजातान्त्रिक कांग्रेसको नेतृत्व शेरबहादुर दाइले नेतृत्व गर्नुभएको थियो । कांग्रेस मर्च भएर यत्रो बनिसक्दा पनि देउवा दाइले हिजो प्रजातान्त्रिकमा रहेका मात्रै कांग्रेस हो भन्ठान्नुभयो ।
भनेपछि गुटको सीमा तोड्न सकिरहनुभएको छैन ?
उहाँको सम्पूर्ण क्रियाकलापले कांग्रेस भनेको म हुँ भन्ने देखिन्छ । कांग्रेस दुइटै मिलेर एउटै भो भन्ने सन्देश गएन । म कांग्रेस प्रजातान्त्रिक पार्टीको सभापति थिएँ, आज पनि त्यही प्रजातान्त्रिकको सभापति छु कि उहाँमा अनुभूति भएजस्तो देखिन्छ । त्यो धङधङी हटेको छैन कि भन्ने देखिन्छ ।
तपाईंचाहिँ कुन गुटको त ? कहिले कोइरालातिर, कहिले देउवातिर ।
म कुनै पक्षको होइन । हिजो सुशील कोइरालालाई भोट हालेँ । फेरि केही गर्नुहुन्छ भनेर पछिल्लो निर्वाचनमा भोट हालेर सभापतिमा शेरबहादुर देउवालाई जिताएँ । म कुनै पक्षको भएको भए सभापतिहरुले गरेको गल्तीलाई यसरी सार्वजनिक रुपमा बोल्ने आँट कसरी गर्न सक्छु र ! मैले हिजो भोट हाल्नु आफ्नो ठाउँमा छ । तर, सभापति विधि, प्रक्रिया मिच्ने, मनोमानी र एकलौटी ढंगले अगाडि बढ्दा ठीक गर्नुभयो भन्न त मेरो विवेकले मान्दैन । त्यसकारण म अहिले कुनै गुटका होइन ।
मैले कांग्रेसलाई सशक्त, सुदृढ बनाएर लानुपर्छ । हिजो कांग्रेसको जस्तो संगठन थियो, त्यस्तै बनाउनुपर्छ । अब आउने निर्वाचनमा कांग्रेस मुलुकको सबभन्दा ठूलो दलको रुपमा स्थापित हुनुपर्छ । त्यसका लागि आफूलाई सुधार्नुपर्छ । सुध्रिनुपर्छ भन्नेमा हो ।
आगामी महाधिवेशनबाट देउवा सभापतिबाट हट्नुपर्छ भन्ने हो ?
उहाँ फेरि पनि सभापति बन्नुभयो भने कांग्रेस यो भन्दा नि गिर्छ । कांग्रेस जिरोमा त पुग्दैन, कांग्रेस बच्ने भनेको विचारले हो । अहिले पनि जनमत कांग्रेसकै पक्षमा छ । त्यो गत निर्वाचनमा प्राप्त समानुपातिकतर्फको मतले पनि पुष्टि गर्छ । हामी प्रत्यक्षमा किन कमजोर भयौ भन्दा नेतृत्वकै कारण हो ।






