अल्डरसट, बेलायत १७ फेब्रुअरी २०२६ । किरात राई यायोक्खा बेलायतको प्रारम्भिक कार्यसमिति, अल्डरसट शाखाले चर्चित गायक पदम राईलाई विशेष सम्मान तथा बिदाइ गरेको छ ।
अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा आइतबार १५ फेब्रुअरी २०२६ मा एक कार्यक्रमबीच गायक राईलाई सम्मान तथा बिदाइ गरिएको हो । साँझ ७:३० बजेबाट सुरु भएको कार्यक्रम राति ११:५९ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको सुरुवात अल्डरसट शाखाकी अध्यक्ष मनिका राईको स्वागत मन्तव्यबाट भएको थियो । त्यसैगरी केन्द्रीय कार्यसमिति बेलायतका प्रमुख सल्लाहकार तथा आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश राईले बधाई तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षण स्वरूप गायक पदम राईलाई किरात संस्कृतिअनुसार “सिर उभाउने” परम्परागत विधिबाट फेटा गुठाई सम्मान गरिएको थियो । अध्यक्ष मनिका राई तथा प्रमुख सल्लाहकार मेजर मेजर योगेश राईद्वारा मायाको चिनो प्रदान गर्दै उनको सांगीतिक योगदानको कदर गरिएको थियो ।
कार्यक्रमको समापनमा अध्यक्ष मनिका राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा उपस्थित दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, गायक पदम राईको सांगीतिक यात्राको उज्ज्वल भविष्यको कामना समेत गरिन् ।
द भ्वाइस अफल नेपाल सिजन–४ का सेमिफाइनलिस्ट तथा टप–५ प्रतियोगीका रूपमा परिचित गायक राई आफ्ना लोकप्रिय गीतहरू “झल्को मात्रै आएको हो कि” र “कोई जुनिमा मेरै पो थियौ कि” मार्फत दर्शक तथा श्रोतामाझ विशेष पहिचान बनाउन सफल भएका छन् । कार्यक्रममा उनले आफ्ना चर्चित तथा कर्णप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



