नगेन्द्रराज नेम्वाङ
बेजिङ्गस्टोक । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले एक विशेष कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४ औं जन्मोत्सव मनाएको छ ।
गत ११ नोभेम्बरका दिन सेवा साम्वाभक्त लाबुङद्वारा पुजा गरेर सुरु गरिएको पहिलो चरणको कार्यक्रममा नेपालबाट आएका गायक ब्रविण शेर्माको मुन्धुम भजन, भक्तजनहरुबाट देउसी–भैलो र अतिथिद्वारा भेटी चढाएका थिए । त्यसपश्चात च्याब्रुङ्ग झ्याम्टासहित माङलाङ्ग नृत्य गरेर सम्पूर्ण भक्तजनहरुले मनोरञ्जन लिएका थिए ।
नेपालबाट आएकी प्रमुख अतिथि संघीय संसद्की उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई च्याब्रुङ माङलाङ्ग नृत्यको साथमा स्वागत गर्दै कार्यक्रम स्थालमा प्रवेश गराएका थिए । मेहरमान लाबुङ र मुन्धुमी गायक ब्रविण शेर्मा विशेष अतिथि रहेको कार्यक्रममा विभिन्न संघसंस्थाबाट उपस्थित अतिथिले प्रमुख अतिथि डा. तुम्बाहाङफेलाई खादा ओढाई सम्मान गरेका थिए । सो अवसरमा जन्मभूमि नेपाललाई सम्झिँदै राष्ट्रिय गीत बजाइएको थियो भने पहिलो र दोस्रो विश्वयुद्धदेखि अहिलेसम्म ज्यान गुमाएका वीर गोर्खालीहरुको सम्मान र संझनामा १ मिनेट मौनधारण गरिएको थियो ।
महागुरु फाल्गुनन्द, धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रा सांवा लिङ्देनको फोटोमा प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुबाट माल्र्यापणपश्चात् केन्द्रीय सदस्य आशा सुब्बा थेवेबाट महागुरु फाल्गुनन्दको जीवनी पढेर सुनाएका थिए । कार्यक्रममा विभिन्न विषय र शिक्षा क्षेत्रमा डिग्री गरेका भाइबहिनीहरुलाई अध्यक्ष रामसिं थेवे र प्रमुख अतिथिले प्रशंसापत्र हस्तान्तरण गर्दै बधाई ज्ञापन गरेका थिए ।
किरात धर्मालम्बीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलबिक्रम सम्बाहाङफे, लिम्बुवान संघीय समाज युकेका अध्यक्ष टंक खापुङ, नेपाली समाज बेजिङ्गस्टोकका अध्यक्ष ओम गुरुङ, कानुनी सल्लाहकार गणेश ईजम, गोर्खा च्यानलकी विमला सेने, लिम्बुवान संघीय समाज युकेका उपाध्यक्ष शर्मिला याक्सो, कियाचु स्वीन्डनका अध्यक्ष राजु सुब्बा, कियाचु रेडिङ शाखाका अध्यक्ष चुडा कर्ण थाम्सुहाङ्ग, ताप्लेजुङ समाजका अध्यक्ष अमृता पालुङवा, कियाचु युकेका सल्लाहकार नरकुमारी लिम्बु, समाजसेवीहरु लोचन लिम्बु, बिजय लिङथेप, हस्तकला थाङदेन, बिजय लिङ्गदेन, सुवर्ण नेम्वाङ्ग, माङ्गेगा चुम्लुङ्ग युकेका पूर्वअध्यक्ष शुभाष चन्द्र जबेगु लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा योगकुमार फगामी, तिल बिक्रम सम्वाहाङफे, गायक ब्रविण शेर्माले शुभकामना मन्तव्य राखेका थिए ।
महागुरु फाल्गुनन्दको १३४ औं जन्मोत्सवको शुभअवसर पारी विश्व साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वासदीप तिगेला र समाजसेवी प्रेमकुमारी तुम्बाहाङफेबाट युकेमा माङहीम निर्माणका लागि एक÷एक तोला सुन दिने प्रतिबद्धता जनाएका थिए । प्रमुख अतिथि तुम्बाहाङफेले शुभकामना मन्तव्यको क्रममा उच्च शिक्षा हासील गरी प्रशंसा पत्र प्राप्त गर्ने व्यक्तिहरुलाई बधाई दिएकी थिइन् भने किरात धर्मालम्बीहरुलाई प्रशंसा गर्दै कार्यक्रम सफल भएको बताए । उनले नेपालको ऐन, कानुन, संविधान र वर्तमान राजनीति अवस्था जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष रामसिं थेवेले स्वास्थ्य, आनन्द र ज्ञान धर्मभित्र पाइने बताउँदै उपस्थित भक्तजनहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । अध्यक्ष थेवेको अध्यक्षतामा सम्पन्न महागुरु जन्मोत्सव कार्यक्रममा उपाध्यक्ष नन्दा चेम्जोङ्गले स्वागत मन्तव्य दिएका थिए भने सचिव लाल लिङ्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।






