लन्डन । स्कटल्यान्डको राजधानी शहर एडिनबरामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आयोजना र नेपाल स्कटल्यान्ड एसोसियसन महिला समूहको सहयोगमा संस्थाकी सल्लाहकार प्रकृति थापा प्याकुरेलको सभापतित्वमा सोमबार नारी दिवस मनाइएको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । सोही अवसरमा स्कटल्यान्डका रहेर समाजसेवामा योगदान गरेका एक दर्जन महिलालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले नारी दिवसको शुभकामना दिए । उनले नेपाली महिलाहरुको सशक्तिकरण र सामाजिक स्तरको सहभागिता सुदृढिकरणको लागि कार्यक्रमले प्रोत्साहन गर्ने आशा व्यक्त गरेका थिए ।
नारी दिवसको शुभकामना दिन एनआरएनए यूके महासचिव दिवाकर पान्डेय, उपाध्यक्षद्वय उज्ज्वल कार्की र राम प्रसाद कंडेल, सल्लाहकारहरु तथा स्कटल्यान्डका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए यूके कार्यसमिति सदस्य तथा कार्यक्रम सहसंयोजक रीता कार्कीले सञ्चालन गरेको कार्यक्रममा नेपाल स्कटल्यान्ड एशोसिएसनको महिला समिति अध्यक्ष शारदा दाहालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमकी संयोजक कमला श्रेष्ठ नेपालमा रहेकाले भौतिक रुपमा उपस्थिति जनाउन नसके पनि संयोजनको जिम्मेवारीनिर्वाह गरेकी थिइन् ।






